Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच – Lekhanpeeth

बजार व्यवस्थित नहुँदा सडकमै आँप किनबेच

229
0
Share:

काठमान्डौ/आँपको राजधानी मानिने सिरहाको लहानमा आँप बिक्रीवितरण गर्ने व्यवस्थित ठाउँ नहुँदा व्यापारी र उपभोक्ताहरु सडकमै किनबेच गर्न बाध्य छन् । असार र साउन आँपको सिजन भएकाले यतिबेला लहानको मुख्य बजारअन्तर्गत पर्ने पूर्व-पश्चिम राजमार्गको सडक किनारमा आँप खरिद बिक्री गर्नेको भीड लाग्ने गरेको छ ।

 

सडक किनारमा आँप बिक्री वितरण गर्दा सवारी आगमनमा असर परेको छ । दुर्घटनाको जोखिम उत्तिकै बढेको स्थानीयवासी बताउँछन् । “दिनानुदिन आँप व्यापारीहरुले सडक क्षेत्र मिचेका छन् । यसले गर्दा सवारी आगमनमा समस्या भई दुर्घटनाको जोखिम बढिरहेको छ,” जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुख डम्बरबहादुर पुरीले भने, “व्यापारीलाई हामीले कारबाही गर्न मिल्दैन । स्थानीय बजार व्यवस्थापनको जिम्मेवारी पालिकाको भएकाले लहान नगरपालिकासँग समन्वय गरी सवारी आगमन सहज बनाउन पहल गरिरहेका छौँ ।”

 

स्थानीय व्यापारीहरु भने आँप खरिद बिक्रीका लागि व्यवस्थित ठाउँ नतोकिँदा सडक पेटीमै बसेर बिक्रि गर्न बाध्य भएको बताउँछन् । “आँप बिक्री गर्ने उपयुक्त ठाउँ तोकिएको भए त्यहाँ राखेर बिक्री गर्थे । सडक पेटीमा बसेर आँप बेच्न नगरपालिकालाई कर तिरिरहेका छौँ,” स्थानीय व्यापारी रविन महतोले भने । उनले नगरपालिकाले व्यवस्थित ठाउँ बनाई दिए सहज हुनेसमेत बताए ।

 

स्थानीय उत्पादनलाई प्रवर्द्धन र किसानलाई प्रोत्साहन गर्न लहानमा उत्पादित आँपको ‘ब्रान्डिङ’ सुरु गरिएको छ । आँपको सङ्कलन, ‘ग्रेडिङ’, ‘प्याकेजिङ’, ‘ब्रान्डिङ’ तथा बजारीकरण गरी लहानको आँपलाई नेपाली बजारमा पहिचान दिलाउने र उपभोक्ताले विषादीरहित शुद्ध आँप उपभोग गर्ने वातावरण मिलाइरहेको नगरपालिकाले जनाएको छ, तर स्थानीय बजार व्यवस्थापन गर्न नसक्दा व्यापारी, उपभोक्ता तथा यात्रुले समस्या खेप्नु परेको नगरपालिकाका कृषि शाखा प्रमुख प्रकाश साह हलुवाईले बताए ।

 

“नजिकै खाली जग्गा नहुँदा समस्या भएको छ,” प्रमुख हलुवाईले भने, “व्यवस्थित बजार बनाउन सम्भव भइरहेको छैन । हामी यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भनेर उपाय खोजिरहेका छौँ । अहिले आँप खरिद बिक्रि भइरहेको ठाउँलाई पनि सडक क्षेत्रमा असर नपुग्ने गरी कम्तीमा दश फिट पछाडि सार्न सकिन्छ । त्यसका लागि पहल गरिरहेका छौँ ।”

 

लहान बजारको उत्तरतर्फ खुट्टीखोला किनारमा नगरपालिकाले लामो समयदेखि हाटबजार सञ्चालन गर्दै आएको छ । प्रत्येक साताको सोमबार र शुक्रबार दुई दिन हाटबजार लाग्ने सो स्थान बढ्दो जनघनत्वसँगै साँघुरो भएको हो । त्यसैले पूर्व-पश्चिम राजमार्गमा तरकारी तथा आँप व्यापारीले सडक ढाक्ने गरेको स्थानीयवासी सन्तोष गुप्ताको भनाइ छ ।

 

नगरप्रमुख महेशप्रसाद चौधरीले पकेट क्षेत्रका रुपमा उत्पादन हुने लहानको आँप बजारलाई व्यवस्थापन गर्नुको विकल्प नरहेको बताए ।

Share: