
काठमान्डौ/नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै महामन्त्री शर्माले अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । उनले सरकारले आगामी आर्थिक वर्षको बजेटमा अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउने भने पनि सरकारले आफ्नो दायित्व निर्वाह नगरेको बताए ।
उनले सरकारले तिरिदिनु पर्ने १ हजार १४ रुपैयाँ नछुट्याइएको भन्दै यसतर्फ पनि सरकारको ध्यानाकर्षण गराए । महामन्त्री शर्माले अनौपचारिक क्षेत्रका श्रमिकहरूको आयको सुरक्षा, जीवनको सुरक्षा र सामाजिक सुरक्षा अलपत्र अवस्थामा रहेको बताए ।