
काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन जर्मन सरकारसँग आग्रह गरेका छन् ।
जर्मन भ्रमणका क्रममा राष्ट्रपति पौडेलले जर्मनी समकक्षी फ्रयांक वाल्टर स्टाइनमायरसँगको भेटमा युरोपेली आकाशमा नेपाली एयरलाइन्समाथिको प्रतिबन्ध हटाउन आग्रह गरेका हुन् । बुधबार बिहान स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति पौडेलको स्वीट्जरल्यान्ड र जर्मन भ्रमणबारे जानकारी गराउँदै परराष्ट्र सचिव सेवा लम्सालले जर्मन भ्रमणका क्रममा राष्ट्रपति पौडेलले लुफ्थान्सा एयरलाइन्सको सर्भिस सुचारु गर्न र युरोपेली आकाशमा रहेको प्रतिबन्ध फुकुवा गर्न अनुरोध गरेको जानकारी दिइन् ।
उनले जर्मन भ्रमणमा जर्मनीका राष्ट्रपति स्टाइनमायरसँग दुई पक्षीय भेटवार्ता भएको र विकास सहयोग, व्यापार, लगानी, पर्यटन, व्यवसायिक तालिममा केन्द्रित हुँदै दुवै पक्षबाट नेपाल–जर्मन सम्बन्धका सम्पूर्ण पक्षमा छलफल भएको बताइन् । कृषि, पर्यटन र जलस्रोतलगायतका विकास प्राथमिकताबारे प्रकाश पार्दै यी क्षेत्रमा जर्मन सहयोग र लगानीका लागि निजी क्षेत्रलाई समेत प्रोत्साहन गरेको उनले बताइन् । त्यस्तै, स्वीट्जरल्यान्ड भ्रमणका क्रममा राष्ट्रपति पौडेले भियोला एमहर्डसँग भेटवार्ता गरेका थिए । भेटका क्रममा नेपाल-स्वीट्जरल्यान्ड सम्बन्धका विविध पक्षमा छलफल भएको सचिव लम्सालले बताइन् । दुवै पक्षबाट दुई पक्षीय सम्बन्धको विद्यमान अवस्थाबारे सन्तोष व्यक्त गरिएको उनले बताइन् ।
नेपाल र स्वीट्जरल्यान्डबीच विकास सहयोग, उच्चस्तरिय भ्रमणको आदनप्रदान, सांस्कृतिक एवं जनस्तरको सम्बन्ध विस्तारलगायतका दुई पक्षीय सम्बन्धका सबै पक्षमा कृषि, ऊर्जा तथा दिगो पर्यटन विकासका क्षेत्रमा लगानीका सम्भावना तथा जलवायु परिवर्तनका नकारात्मक असरविरुद्ध लड्ने र पर्वतीय पर्यावरण बचाउने विषयमा छलफल केन्द्रित भएको सचिव लम्सालले बताइन् ।
उनले स्वीट्जरल्याडका राष्ट्रपतिसँगको भेटमा राष्ट्रपति पौडेलले नेपालको सामाजिक, आर्थिक विकास, संघीयताको कार्यान्वयन र शान्ति प्रक्रियामा गरेको सहयोगका लागि स्वीट्जरल्यान्ड सरकारलाई धन्यवाद व्यक्त गरेको जानकारी दिइन् । स्वीट्जरल्यान्डका राष्ट्रपतिले नेपाल समृद्धितर्फ अघि बढिरहेकोमा सन्तोष व्यक्त गरेको पनि उनले बताइन् । दुवै देशका राष्ट्रपतिसँगको भेटमा राष्ट्रपति पौडेलले नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएको पनि सचिव लम्सालले बताइन् ।