संसद् बैठकमै माननीयज्यूहरू घ्वारघ्वार निदाउनुहुन्छ : उपसभामुख राना

87
0
Share:

काठमान्डौ/उपसभामुख इन्दिरा रानाले संसद् बैठकमा सांसदहरू निदाउने गरेको भन्दै आपत्ति जनाएकी छन् । आइतबार संसद् भवनमा ६६औँ संसद् दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

 

उनले संसद् बैठकका बेला सांसदहरू घुर्दै निदाउने गरेको आफूले देखेको सुनाइन् । संसद्‌मा आफूले फोटो खिच्न नपाउने उनले उल्लेख गरिन् । संसद् दिवसका अवसरमा आयोजित कार्यक्रममा पनि सांसदहरू निदाएको भन्दै फोटो र भिडियो खिचेर राखेको उनले बताइन् ।

 

उनले सुत्ने बेला नभएको भन्दै सभामा सुतेर सपना नदेख्न सांसदहरूलाई सचेत गराइन् । सांसदहरूले नीति निर्माणमा बढी जोड दिएर काम गर्न आवश्यक रहेको उनले औँल्याइन् । उपसभामुख रानाले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेट एउटा परियोजनाको बराबर नभएको भन्दै दुःख व्यक्त गरिन् ।

 

यस्तो छ संसद् दिवसको कार्यक्रममा उपसभामुख इन्दिरा रानाको भनाइ :

संसद्‌मा फोटो खिच्न मिल्दैन, घ्वारघ्वार सुतिरहेको हुनुहुन्छ मान्यज्यूहरू । यहाँ मलाई के भन्न मन लाग्यो भने, यहाँ पनि धेरै सुतेको देखेँ । अलिअलि रेकर्ड पनि गरेर राखेको छु मैले । यो सुत्ने तरिकाले चाहिँ हामी सभामा नबसौँ । जाग जाग नेपाली भन्न मन लाग्यो मलाई । सुत्ने बेला भएको छैन, सुतेर सपना नदेख्नुस् । उठेर हेर्नुस् त कति सुन्दर छ । यी अनुहारहरू फेरि एकछिनमा हामी देख्न पाउँदैनौँ । यी आवाजहरू एकछिनमा हामी सुन्न पाउँदैनौँ । कति बेला हिँड्दा हिँड्दा यी आवाजहरू बन्द हुन्छन् थाहा हुँदैन । हामी लोकतन्त्र र प्रजातन्त्रको कुरा गर्छौँ ।

Share: