महिला एसिया कप : उद्दघाटन खेलमा नेपाल युएई विरुद्ध खेल्दै

138
0
Share:

काठमान्डौ/एसीसी महिला एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि सुरु हुँदैछ। पहिलो दिन शुक्रबार समूह ‘ए’का दुई खेल हुँदैछन्।

 

श्रीलंकामा जारी प्रतियोगिताको पहिलो खेलमा नेपालले यूएईको सामना गर्दैछ। यो खेल डम्बुला मैदानमा नेपाली समय अनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ। आजै हुने दोस्रो खेलमा भारत र पाकिस्तानले प्रतिस्पर्धा गर्दैछन्। यो खेल सोही मैदानमा साँझ ७ः१५ बजे सुरु हुनेछ।

 

साउन ४ देखि १३ गतेसम्म हुने प्रतियोगितामा नेपाल गत फेब्रुअरीमा मलेसियामा सम्पन्न एसीसी महिला प्रिमियर कपबाट छनोट भएको हो। प्रतियोगितामा आठ टोलीको सहभागी छन्। दुई समूहमा विभाजन गरिएको प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ। नेपालको समूहमा भारत र पाकिस्तान जस्ता टेस्ट राष्ट्रसँगै यूएई छ।

 

समूह ‘बी’ मा श्रीलंका, बंगलादेश, मलेसिया र थाइल्यान्ड छन्। समूह चरणमा हुने १२ खेलबाट उत्कृष्ट दुईदुई देश सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा विजयी दुई टोलीबिच फाइनल भिडन्त साउन १३ गते हुनेछ।

 

नेपाली महिला एसिया कप टोलीको नेतृत्व क्यानले इन्दु बर्मालाई दिएको छ। नेपाली टिममा पूर्व कप्तान रुविना क्षेत्रीसँगै सीता रानामगर, बिन्दू रावल, कविता कुँवर, पूजा महतो, कविता जोशी, सम्झना खड्का, काजोल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन्।

 

नेपालको प्रतिस्पर्धा भारत, पाकिस्तान र यूएईसँग

नेपालले प्रतियोगितामा पहिलो उद्घाटन खेल यूएईसँग खेल्न लागेको हो। यो खेल श्रीलंकाको डम्बुलामा हुनेछ। नेपालले दोस्रो खेल साउन ६ गते पाकिस्तानसँग खेल्नेछ भने समूह चरणको अन्तिम खेल बलियो प्रतिद्वन्द्वी भारतसँग खेल्नेछ। यो खेल साउन ८ गते डम्बुलामै हुनेछ।

 

 

Share: