गाउँघर प्रविधिमैत्री बनाउँदै रघुगङ्गा गाउँपालिका

Share:

काठमान्डौ/म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ ठाडाखानीका टेकजित छन्त्याल विदेशमा रहेका आफन्तदेखि छिमेकीसँग भिडियो कलबाट सूचना आदानप्रदान र कुराकानी गर्छन् ।

सोही गाउँका दलमान छन्त्यालले पनि ‘एन्ड्रोइड फोन’ र इन्टरनेट सुविधा भएपछि सूचना आदानप्रदानको परम्परागत शैली परिवर्तन गरे । “गाउँमा सूचना प्रवाह गर्नुपर्दा पहिले कटुवाललाई घोक हाल्न (चिच्याउन) लगाउने चलन थियो,” उनले भने, “अहिले फेसबुक ग्रुप र पेजमा सूचना राख्ने गरिएको छ ।”

 

इन्टरनेट भएपछि सस्तो र सजिलो रुपमा देश विदेशमा रहेका आफन्त, साथीभाईसँग कुराकानी र सूचना आदानप्रदान गर्न पाएको टेकजितले बताए । “हामी सानो हुँदा विदेशबाट म घर आउँदैछु भनेर एक महिना अघि चिठी पठाउने व्यक्ति चिठी भन्दा पहिले घर आइपुग्ने अवस्था थियो,” उनले भने “अहिले विश्वको जुनकुनै ठाउँमा भिडियो कलमा अनुहार हेरेर कुराकानी गर्न पाइएको छ ।”

 

ठाडाखानीका बासिन्दाले सामूहिक रुपमा सबै घरमा इन्टरनेट जडान गरी प्रविधिमैत्री गाउँ बनाउने अभियान चलाएपछि सूचना आदानप्रदानको शैली फेरिएको हो । गाउँपालिकाको छ लाख ५० हजार अनुदान र स्थानीयवासीले जुटाएको १२ लाख ५० हजार रकमबाट अल्पङ्ख्यक छन्त्याल र दलित समुदायको बसोबास रहेको ठाडाखानीका ६५ घरमा इन्टरनेट जडान गरिएको वडाध्यक्ष मनकुमार शेरपुञ्जाले बताए ।

 

“ठाडाखानीसहित कमनाथ, कालावाङ, कोटगाउँ, पाखापानी, औला, फुलडाँडा बस्तीका सबै घरमा सामूहिक रुपमा इन्टरनेट जडान भएको छ,” उनले भने “अर्मपर्म, भेला, बैठकदेखि विवाह, छेवारको निम्ता गर्न पनि फेसबुक च्याट ग्रुप र पेजलाई प्रयोग गरेका छौँ ।” विकास निर्माण र सामाजिक कामको लागि सुझाव सङ्कलन गर्न तथा भएका गतिविधिको प्रचारप्रसार गर्न फेसबुक पेजको प्रयोग गरिएको छ ।

 

समाचारका लागि सञ्चार माध्यममको अनलाइन पेज र युट्युब च्यानलबाट समाचार सुन्न, हेर्ने र पढ्न थालेका छन् । युट्युबमा आफूलाई मनपर्ने गीत, चलचित्र हेरेर ज्येष्ठ नागरिकले रमाइलो गर्दछन् ।

 

रघुगङ्गा गाउँपालिकाले आर्थिक वर्ष २०७९/८० मा विनियोजन गरेको छ लाख ५० हजार बजेटबाट पाखापानी, कमनाथ, रायखोर, औला, कालावाङ, फुलडाँडा क्षेत्रमा इन्टरनेट विस्तार भएको थियो । पाँच सय घरधुरी रहेको पाखापानी वडाको रायखोर, मुलपानी र उल्लेरीका ९० घरधुरी बाहेक सबैमा इन्टरनेट जडान भएको छ ।

 

आगामी वर्ष रायखोर क्षेत्रमा इन्टरनेट विस्तार गर्न हिउँदे गाउँसभाबाट बजेट व्यवस्था गर्ने वडा अध्यक्ष शेरपुञ्जाले बताए ।

Share: