तीन वर्षअघि उद्घाटन गरेको धरहराको ९५ प्रतिशत काम सकियो

160
0
Share:

काठमान्डौ/प्रधानमन्त्री ओलीले धरहरा छिट्टै सञ्चालनमा ल्याउन निर्देशन दिए पनि सहरी विकास मन्त्रालयको सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइ (भवन तथा आवास) ले भने धरहरा निर्माण प्रगति जम्मा ९५ प्रतिशत मात्र भएको जनाएको छ ।

 

इकाइ प्रमुख कोषनाथ अधिकारीका अनुसार ठूला काम सकिए पनि मेकानिकल, वायरिङ, पार्किङलगायतका काम बाँकी छन् । ‘ठूला काम लगभग सकियो । अब पार्किङमा फ्रेस हावा पठाउने, मेकानिकललगायतका काम बाँकी छन्,’ उनले भने, ‘प्रधानमन्त्रीको निर्देशनपछि अब एक–दुई दिनमा छलफल गर्छौँ र कहिलेदेखि सञ्चालनमा ल्याउन उपयुक्त हुन्छ, त्यसपछि मिति निर्धारण गर्छाैँ ।’

 

नयाँ धरहरा निर्माण सकिनै लागे पनि पुरानो ०७२ सालको भूकम्पले लडेको धरहरा संरक्षण र सुन्धारा पुनर्निर्माण अझै सुुरु भएको छैन । पुरानो धरहरालाई त्रिपालले छोपेर राखिएको छ । धरहरा निर्माणको जिम्मा पाएको निर्माण कम्पनीले सुन्धारा पुनर्निर्माण गर्न खोजे पनि स्थानीय र पुरातŒव विभागको हस्तक्षेपका कारण अगाडि बढ्न सकेको छैन । ‘म एकपटक सुन्धारा यसरी बनाउन सकिएला कि भनेर प्रस्ताव लिएर विभाग गएको थिएँ, तर अहिलेसम्म स्वीकृति पाइएको छैन । सुन्धारा पुनर्निर्माणमा इच्छा त देखाएका छन्, तर अहिलेसम्म काम सुरु गरेका छैनन्,’ अधिकारीले भने ।

 

यसअघि ११ वैशाख ०७८ मै प्रधानमन्त्री ओलीले धरहरा निर्माण सम्पन्न भएको दाबी गर्दै उद्घाटन गरेका थिए । उद्घाटन गरेको तीन वर्ष बितिसक्दा पनि सर्वसाधारणले भने धरहरामा प्रवेश पाएका छैनन् ।

 

ऐतिहासिक सम्पदा भए पनि धरहरा पुनर्निर्माण बहुउपयोगी आधुनिक भवनका रूपमा भएको छ । यस भवनको तीन तलासम्म सवारी पार्किङस्थल छ । जसमध्ये पहिलो एक तला सर्वसाधारणका लागि पार्किङ गर्न खुला गरिएको छ । आधुनिक ढंगले पुनर्निर्माण गर्न जमिन अपुग भएपछि सरकारले गोस्वारा हुलाक, टक्सार विभाग, नेपाल बैंक र सुन्धारा रहेको सबै जमिन एकीकृत रूपमा विकास गरेको थियो ।

 

प्रधानमन्त्री केपी ओलीले सर्वसाधारणका लागि धरहरामा छिटो प्रवेश दिन निर्देशन दिएका छन् । सोमबार मन्त्री तथा सचिवहरूलाई उनले धरहरा बनिसके पनि सर्वसाधारणले प्रवेश नपाएको भन्दै छिटो सञ्चालनमा ल्याउन निर्देशन दिएका हुन् ।

Share: