बूढीगंगाको कटानले बाजुरा र अछामका दर्जनौँ बस्ती जोखिममा

120
0
Share:

काठमान्डौ/बूढीगंगा नदीको कटानले बाजुरा र अछाममा खेतीयोग्य जमिन बगरमा परिणत हुँदै गएको छ । यो वर्ष पनि नदीले निरन्तर कटान गर्दै जाँदा बाजुरा र अछामका दर्जनौँ बस्तीसमेत जोखिममा परेका हुन् ।कटानका कारण बाजुराको गौमुल गाउँपालिका, बडिमालिका नगरपालिका, बूढीगंगा नगरपालिका र त्रिवेणी नगरपालिकाका तटीय क्षेत्रका बस्ती जोखिममा छन् ।

 

गत वर्षको मनसुनमा बूढीगंगा नगरपालिका १ अमकोटमा १०७ परिवारको खेतीयोग्य जमिन बूढीगंगा नदीले कटान गरेको थियो । यो वर्षको मनसुन सुरु भएपछि सोही नगरपालिका ३ ताप्रिसेरामा रहेको ५० परिवारको जग्गा बगरमा परिणत गरेको स्थानीयले बताएका छन् ।

 

बाजुराको बडिमालिका नगरपालिका २ घागरमा १९ मुरी धान फल्ने खेत बगाएको र जोखिममा परेकाले घरमा बस्नसमेत छोडेको हिरा उपाध्यायले बताएका छन् । बडिमालिका नगरपालिका २ पानीनाउलामा २५ परिवारको जग्गा पूरै कटान गरेको स्थानीय धन बढुवालले जानकारी दिए ।

 

बाजुराकै त्रिवेणी नगरपालिका ३ नं वडा र बूढीगंगा नगरपालिका ३ नं वडाको खेतीयोग्य जमिन नदीले कटान गरेको स्थानीय दिपक शाहले बताए । नदीको किनारामा रहेका ताप्रिसेरा, राप्का, बार्जुगाडा, मौर लगायत बजार पनि जोखिममा परेका छन् ।

 

अछामको साँफेबगर नगरपालिका २ का कमल साउदले साँफेबगरको बुढाबगर, ठाँटी, साँफे र कालिमाटीमा बूढीगंगाले कटान गर्दै आएको बताएका छन् । नदीले अछाममा रहेको धार्मिकस्थल बजनाथ क्षेत्रको केही भाग पनि कटान गरेको छ ।

Share: