विपद्जन्य घटनामा उद्धार र राहतको प्रभावकारी व्यवस्था गर्नुपर्नेमा जोड

95
0
Share:

काठमान्डौ/राष्ट्रियसभाको बैठकमा सांसदहरुले बाढी, पहिरो, डुबान, बस दुर्घटना, हवाई दुर्घटनालगाय प्राकृतिक विपद्मा परेका पीडित नागरिकलाई तत्काल उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेका छन् ।

 

आजको बैठकको विशेष समयमा बोल्दै सांसद जगप्रसाद शर्माले वर्षातको समयमा आएको बाढी, पहिरो डुबानका साथै बस तथा हवाई दुर्घटनालगायत प्राकृतिक विपद्जन्य घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरे । उनले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदन प्रकटन गर्दै ती घटनामा आवश्यक उद्धार, राहत र क्षतिपूर्तिको व्यवस्था गर्न सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।
सांसद शर्माले स्थिर सरकार, संविधानको संशोधन र समृद्धिको नाराका साथ अगाडि बढेको वर्तमान सरकारको कार्यकाल सफलताको शुभकामनासमेत व्यक्त गरे । उनले संविधान संशोधन गरेर प्रभावकारी कार्यान्वयन गर्ने विषय स्वागतयोग्य रहेको भन्दै संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका परिवर्तनकारी शक्तिको भावनालाई पनि समटेर संशोधन गरिनुपर्नेमा जोड दिए ।

 

सांसद कृष्णबहादुर रोकायले मनसुनजन्य विपद्का घटना न्यूनीकरण गर्न सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिए । उनले सङ्घीय सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरी विपद्का न्यूनीकरणसम्बन्धी प्रभावकारी योजना बनाएर कार्यान्वयनमा लैजानुपर्ने खाँचो औँल्याए ।

 

सांसद रोकायले जागरकोट भूकम्पका पीडित नागरिक मनुसुनजन्य विपद्का कारण थप पीडामा परेका, गत असार ३१ गते राति परेको अविरल वर्षाका कारण रुकुमपश्चिमका झिनचौर, खोला, तातोपानी खोला र डावाखेत खोलामा आएको बाढीले ठूलो धनजनको क्षति भएको भन्दै पीडितलाई राहत र क्षतिपूर्तिको व्यवस्था मिलाउन माग गरे ।

 

उक्त घटनामा बेपत्ता डिल्लिबहादुर बुढाथोकीको अवस्था हालसम्म अज्ञात रहेको भन्दै सोही घटनामा धनिषा पुन, हितमाया पुन र मनिषा सार्कीको मृत्यु भएको सांसद रोकायले जानकारी दिए । जिल्लाका अन्य भेगमा भएको विपद्जन्य घटनाका पीडितलाई क्षतिपूर्तिको व्यवस्था मिलाउन उनले सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए ।

 

सांसद घनश्याम रिजालले हालै सौर्य एयरलाइन्सको विमान दुर्घटना, त्रिशुली नदिमा दुई बस बेपत्ता भएको घटनासहित देशका विभिन्न स्थानमा बाढी, पहिरोलगायत विपद्जन्य घटनामा ठूलो जनधनको क्षति भएको भन्दै विपद्जन्य घटना न्यूनीकरण गर्न सरकारले योजनाबद्ध पहल थाल्नुपर्नेमा जोड दिए ।

 

सांसद रिजालले विभिन्न घटनामा मृत्युभएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनमा गहिरो समवेदना व्यक्त गरे । उनले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ताको खोज तथा उद्धारलाई प्रभावकारी बनाउन सभाध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराए । सांसद रिजालले संविधान संशोधनको क्रममा संविधानमा रहेका समानुपातिक र समवोशी प्रणालीलाई निरन्तरता दिन आग्रह गरे ।
सांसद कमला पन्तले प्राकृतिक विपत्तिका घटनाले मुलुक आक्रान्त बनेको र जनजीवन अस्तव्यस्त भएको भन्दै यसप्रति सरकार संवेदनशील बन्नुपर्ने बताइन ।

Share: