
काठमान्डौ/अर्थ मन्त्रालयले ११ जना भन्सार प्रमुखसहित १९ जना उपसचिवको सरुवा गरेको छ । सोमबार मन्त्रीस्तरीय निर्णयअनुसार आन्तरिक राजस्व कार्यालयहरू र अर्थमन्त्री विष्णुप्रसाद पौडेलको गृह जिल्लामा रहेको भैरहवा भन्सार कार्यालयका प्रमुखसमेतको सरूवा भएको हो ।
अर्थले एक साताअघि मात्रै भन्सार, राजस्व र करका ५८ जना उपसचिवको सरुवा गरेको थियो । अर्थले एक सातामा ७७ जना उपसचिवको सरुवा गरेको छ ।
मन्त्री पौडेलको गृह जिल्ला रुपन्देहीको भैरहवा भन्सार प्रमुख नारदमणि गौतमलाई १० महिनामा फिर्ता बोलाइएको छ । भैरहवामा मेची भन्सार प्रमुख रहेका रामप्रसाद रेग्मीलाई पठाइएको छ । गौतमलाई भने भन्सार जाँच पास परीक्षण कार्यालय(पीसीए) त्रिपुरेश्वर सरुवा गरिएको छ । रेग्मीले मेची भन्सारको नेतृत्व गरेको १५ महिनामा भैरहवा पठाइएको हो ।
मेची भन्सार प्रमुखमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट राजेन्द्र प्रसाद चुँडाललाई पठाइएको छ । स्रोतका अनुसार चुँडालले मेची जान आनाकानी गरिरहेका छन् । नेपालगन्ज भन्सार प्रमुख ध्रुबराज विश्वकर्मा र कृष्णनगर भन्सार प्रमुख मानबहादुर पौडेललाई १०/१० महिनामै सरुवा गरिएको छ ।