Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
पोखरा आसपासमा गिद्धको सङ्ख्या २२ प्रतिशतले बढ्यो – Lekhanpeeth

पोखरा आसपासमा गिद्धको सङ्ख्या २२ प्रतिशतले बढ्यो

Share:

काठमान्डौ/गत वर्षको तुलनामा पोखरा आसपासका क्षेत्रमा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको छ । अन्तर्राष्ट्रिय गिद्ध संरक्षण दिवसका अवसरमा गरिएको गणनामा गिद्धको सङ्ख्या करिब २२ प्रतिशतले बढेको पाइएको हो ।

 

पोखरा पन्छी समाजका अध्यक्ष मनशान्त घिमिरेका अनुसार यहाँस्थित पन्छी समाजले हरेक वर्ष जस्तै यस वर्ष पनि पोखरा आसपासका क्षेत्रमा गिद्धको गणना गरेको थियो । सन् २०२३ मा तीन सय ८७ गिद्ध अध्यावधिक गरिएकामा यस वर्ष यो सङ्ख्या बढेर चार सय ७१ पुगेको उनले जानकारी दिए। अध्ययनका क्रममा तनहुँ क्षेत्रमा पनि गिद्धको सङ्ख्या बढेको पाइएको उनले बताए।

 

कास्कीको घाचोक, बाच्छेबुडुवा, पुम्दी–भुम्दी, विजयपुर खोला करिडोर, लामेआहाल तथा तनहुँको गाछेपानी, सिशुवा रभतेरी र दमौली ल्याण्डफिलसाइट गरी एकैपटक आठ स्थानमा छुट्टाछुट्टै टोलीले गणना गरेको घिमिरेले जानकारी दिए।

 

गणनामा सङ्कटापन्न गिद्धको सूचीमा रहेको सेतो गिद्ध सबैभन्दा धेरै बढेको देखिएको छ भने अति–सङ्कटापन्न सूचीमा रहेको सुन गिद्ध, सानो खैरो गिद्ध र डङ्गर गिद्धको सङ्ख्यामा पनि सामान्य वृद्धि भएको पाइएको छ । राज गिद्ध यथास्थितिमा छ भने हिमाली गिद्ध घटेको अध्ययनले देखाएको छ ।

 

सरकारले गिद्ध संरक्षणका लागि ‘गिद्ध संरक्षण कार्ययोजना २०२३–२०२९’ लागू गरेको छ । साथै देशभरका चरा तथा वन्यजन्तु संरक्षणमा लागिपरेका सङ्घसंस्थाले विविध कार्यक्रम आयोजना गरी अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाएका छन् ।

 

सरकारले विसं २०६३ देखि गिद्धलाई अति हानिकारक मानिएको ‘डाइक्लोफेनेक’ (पशुको उपचारमा प्रयोग गरिने औषधि) प्रतिबन्ध लगाएसँगै गिद्धको सङ्ख्या क्रमिक रुपमा वृद्धि हुँदै गएको घिमिरेले जानकारी दिए। सिनोमा हुने विषादी, हाइभोल्टेज तथा बिजुलीका तारमा ठोक्किएर मर्नेक्रम भने लगातार बढेको उनले बताए। समाजले सन् २०१७ देखि पोखरा आसपासमा गिद्धको सङ्ख्या अध्यावधिक गर्दै आइरहेको छ ।

Share: