वडाध्यक्ष यादवको मृत्युको अनुसन्धान गर्न प्रचण्डको माग

83
0
Share:

काठमान्डौ/नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महोत्तरीको रामगोपालपुर नगरपालिका–२ का वडाध्यक्ष मुकेशकुमार यादवको मृत्युको कारणबारे तत्काल अनुसन्धान गर्न सरकारसँग आग्रह गरेका छन् ।

 

दिवङ्गत यादवको स्मृतिमा बुधबार महोत्तरीमा आयोजित श्रद्धाञ्जलीसभामा प्रचण्डले यस्तो आग्रह गरेका हुन् । वडाध्यक्ष यादवको शव यही भदौ ९ मा महोत्तरीको बर्दिवास र औरही नगरपालिकाको सिमानामा फेला परेको थियो । घरपरिवार र जिल्लास्थित राजनीतिक दलहरूले उनको हत्या भएको आशंका गर्दै उच्चस्तरीय अनुसन्धानको माग गर्दै आएका छन् ।

 

वडाध्यक्ष यादवको हत्याको अनुसन्धानको माग गर्दै जिल्लास्थित राजनीतिक दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका नेताहरू केही दिनअघि राजधानीसम्म आएका थिए । प्रचण्डले यादवको मृत्यु दुर्घटनाबाट भयो वा हत्या हो, यसको उच्चस्तरीय छानबिनका लागि सरकारलाई भनिएको र फेरि पनि त्यसका लागि आग्रह गरिने बताए । अनुसन्धानमा लापरवाही नगर्न उनले अनुरोध गरे । यसको निष्पक्ष छानबिन हुनुपर्नेमा जोड दिँदै उनले स्थानीयले निरन्तर आवाज उठाइरहनुपर्ने बताए ।

 

माओवादी केन्द्रका तर्फबाट निर्वाचित वडाध्यक्ष यादव राजनीतिक कार्यकर्ता मात्र नभई मधेसको सामाजिक अभियन्ता पनि भएको प्रचण्डको भनाइ छ । यादवको स्मृतिमा प्रतिष्ठान गठन गर्न र उनका छोराछोरीको पठनपाठनको व्यवस्था मिलाउन प्रदेश र जिल्ला पार्टी नेतृत्वलाई उनले निर्देशन दिए । यसमा पार्टी केन्द्रको तर्फबाट पनि सहयोग रहने उनको भनाइ छ ।

 

मृतक यादवकी श्रीमती आइती यादवले शव र घटनास्थलको प्रकृति हेर्दा दुर्घटनाभन्दा पनि हत्या गरेर दुर्घटना देखाउन खोजेको जस्तो देखिने बताइन् । उनले श्रीमानको निधनको सत्यतथ्य पत्ता लागे आफूहरूलाई न्याय हुने उल्लेख गर्दै त्यसका लागि पहल गरिदिन प्रचण्डलाई अनुरोध गरिन् ।

Share: