Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता – Lekhanpeeth

परराष्ट्रमन्त्रीद्वारा दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग बेग्लाबेग्लै भेटवार्ता

121
0
Share:

काठमान्डौ/संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा रहेकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मंगलबार दक्षिण कोरिया र फिलिपिन्सका विदेशमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छन्।

 

दक्षिण कोरियाका विदेशमन्त्री चो ताय‐युलसँग भएको भेटमा नेपाल(कोरिया सम्बन्धका विविध पक्ष, आपसी हित र साझा चासोबारे छलफल भएको परराष्ट्रमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ। दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध पारस्पारिक सम्मान र समझदारीमा आधारित रहेको तथा त्यसलाई आगामी दिनमा थप प्रगाढ बनाउने विषयमा पनि कुराकानी भएको थियो।

 

त्यसैगरी उनीहरूबीच यस वर्ष दुवै देशले मनाइरहेको नेपाल-कोरिया कूटनीतिक सम्बन्ध स्थापनाको ५०औं वार्षिकोत्सवका बारेमा पनि कुराकानी भएको थियो। नेपाल र कोरियाबीच सन् १९७४ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।

 

परराष्ट्रमन्त्री डा देउवाले कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण जयन्तीका अवसरमा उच्चस्तरीय भ्रमणबाट दुई देशको सम्बन्ध थप बलियो र विस्तारित हुने भन्दै विदेशमन्त्रीमार्फत कोरियाली राष्ट्रपतिलाई नेपाल भ्रमणका लागि आमन्त्रण पनि गरिन्।

 

भेटका क्रममा पछिल्लो समय रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत नेपालीलाई दिइरहेको रोजगारी एवं नेपाली विद्यार्थी र राष्ट्रसेवकहरूलाई दक्षिण कोरिया सरकारले प्रदान गरिरहेको छात्रवृत्तिका लागि परराष्ट्रमन्त्रीले सरकारका तर्फबाट धन्यवाद ज्ञापन गरे। साथै विगत लामो समयदेखि नेपालको सामाजिक, आर्थिकलगायत क्षेत्रमा दक्षिण कोरिया सरकारले पुर्याउँदै आएको सहयोगको पनि उनले सराहना गरेकी थिइन्।

 

मन्त्री डा राणाले कोरियालाई नेपालमा थप लगानीका लागि पनि आग्रह गरेकी थिइन्। नेपालमा प्रत्यक्ष लगानी गर्ने राष्ट्रमध्येको दक्षिण कोरिया प्रमुख देश हो। अघिल्लो आर्थिक वर्षमा नेपालमा दक्षिण कोरियाको करिब १२ अर्ब लगानी आएको थियो।

 

नेपालले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्, सुरक्षा परिषद्मा उम्मेदवारी दिएकाले कोरियाली सहयोगका लागि परराष्ट्रमन्त्रीले आग्रह गरेकी थिइन्। त्यसैगरी, मन्त्री देउवाले मंगलबार नै फिलिपिन्सका विदेशमन्त्री एनरिक ए मानालोसँग पनि भेटवार्ता गरिन्। त्यस क्रममा उनीहरूबीच आपसी हित र साझा चासोका साथै भावी सहकार्यबारेमा कुराकानी भएको थियो। साथै परराष्ट्रमन्त्रीले संयुक्त राष्ट्रसंघको मानवअधिकार परिषद्, र सुरक्षा परिषदमा नेपाललाई सघाउन फिलिपिन्ससँग अनुरोध गरिन्।

Share: