
भक्तपुरमा अवैध रूपमा औषधि पसल सञ्चालनमा रहेका, अदक्ष व्यक्तिद्वारा औषधि बिक्री हुने गरेको, म्याद गुज्रेका औषधि बिक्री गर्ने गरेको, औषधि पसलबाट अवैध औषधि बिक्री भइरहेको लगायतका गुनासो आएपछि प्रशासनको नेतृत्वमा अनुगमन सुरु गरेको सहायक प्रजिअ निरौलाले जानकारी दिए ।
अनुगमनका क्रममा भक्तपुर नगरपालिका–१ दूधपाटीमा सञ्चालित समृद्धि फार्मेसीबाट रु ३० हजार बराबरका औषधि जफल गरी रु १० जरिवाना गरिएको उनले जानकारी दिए। उक्त फार्मेसीले औषधि व्यवस्था विभागमा दर्ता नवीकरण नगरेको, तोकिएको तापक्रममा राख्नुपर्ने औषधिलाई जथाभाबी राखिएको, निर्धारित मूल्यभन्दा बढी मूल्य लिएर बिक्री गरेको पाइएपछि मिति नाघेका औषधि नष्ट गर्नाका साथै जरिवाना लगाइएको हो ।
त्यस्तै, दूधपाटीकै न्यातापोल फार्मेसीले औषधिको बिल देखाउन नसकेपछि कारबाहीस्वरुप रु पाँच हजार जरिवाना लगाएको छ । खरिद बिल र बिक्री बिल देखाउन नसकेको उक्त फार्मेसीले तापक्रम मिलाएर राख्नुपर्ने औषधि जथाभाबी राखेको र मिति नाघेका रु ५० हजार बराबरको औषधि बिक्रीमा राखेका पाइएपछि उक्त औषधि जफत गरी नष्ट गरेको छ ।
त्यसैगरी, सोही ठाउँका मेरिल्यान्ड फार्मेसी एन्ड क्लिनिकले अनुमति नै नलिई अकुपञ्चर सेवा सञ्चालन गरेको पाइएको छ । टोलीले अनुमतिपत्र लिएर मात्रै अकुपञ्चर सेवा सञ्चालन गर्न, साइनबोर्ड राख्न, सेवा शुल्कको लिष्ट बनाएर देखिने गरी राख्न र १५ दिनभित्र जनस्वास्थ्य कार्यालयमा सम्पर्क गर्न निर्देशन दिएको छ । यहीँको भीमेश्वर फार्मेसीलाई औषधिको बिल काट्दा म्यादसमेत उल्लेख गर्न निर्देशन दिएको छ ।
सोही ठाउँको मातृभूमि फार्मेसीले पनि बिग्रिएको फ्रिजमा औषधि राखेको पाइएपछि त्यहाँका औषधि जफत गरी नष्ट गरिएको छ । टोलीले सूर्यविनायक नगर अस्पतालमा नेपाल सरकारले तोकिएको सबै औषधि राख्न निर्देशन दिएको छ ।
अनुगमन नियमित रहने जनाउँदै सहायक प्रजिअ निरौलाले अधिकांश औषधि पसलमा औषधिहरू तापक्रम मिलाएर नराखेको, जथाभाबी औषधि बिक्री गरेको, म्याद गुज्रेका औषधि बिक्रीमा राखेको पाइएको भन्दै मानवीय स्वास्थ्य माथि खेलबाड गर्ने औषधि पसललाई अब कडा कारबाही गरिने बताए ।