Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
एकै दिन २७ हजारले गरे मुक्तिनाथको दर्शन – Lekhanpeeth

एकै दिन २७ हजारले गरे मुक्तिनाथको दर्शन

135
0
Share:

काठमान्डौ/हिन्दु तथा बौद्धमार्गीहरूको साझा धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा बुधबार एकैदिन करिब २७ हजारले दर्शन गरेको बताइएको छ। मुक्तिनाथमा अधिकांश आन्तरिक भक्तजनसहित भारतीय दशनार्थीले दर्शन गरी फर्किएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

 

मुक्तिनाथ मन्दिरमा यो नै अहिलेसम्मकै बाक्लो संख्यामा दर्शनार्थीको उपस्थिति रहेको दाबी गरिएको छ। दसैंअघिको सोह्र श्राद्ध तिथि र दसैं—तिहार पर्वको अवधिमा आएका दर्शनार्थी तथ्यांकमा एकै दिनमा यति ठूलो संख्यामा मुक्तिनाथमा दर्शन गरेका त्यहाँ कार्यरत सुरक्षाकर्मीहरू बताउँछन्। बुधबार सडकमार्ग तथा हवाईमार्ग हुँदै मुक्तिनाथ दर्शन गर्न आउने दर्शनार्थीको चापले दर्शन तथा आन्तरिक सुरक्षा व्यवस्थापन हम्मेहम्मे परेको थियो।

 

तिहारमा भाइटीका लगाएर मुक्तिनाथको दर्शन तथा मुस्ताङ जिल्लाको भ्रमण गर्न आउने दर्शनार्थीको ओइरोले मंगलबार राति मुक्तिनाथ, कागबेनी, जोमसोम, मार्फा र लेतेसम्मका होटल रेस्टुरेन्टहरू भरिभराउ भएको मुक्तिनाथस्थित होटल रोयल मुस्ताङका प्रोपाइटर विजय थकालीले जानकारी दिए। मुक्तिनाथ दर्शन गर्न आइपुगेका कतिपय दर्शनार्थी पर्यटक भरिएर होटलमा बाँस नपाउँदा मुक्तिनाथ धर्मशाला र जोमसोम धर्मशालामा बाँस बस्न पुगेका थिए। बर्सेनि दसैं-तिहार र छठ पर्वको लामो बिदामा मुस्ताङमा आन्तरिक भक्तजनहरूको ओइरो नै लाग्ने गर्छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका अनुसार तिहारको भाइटीकापछि मुक्तिनाथको दर्शन गर्न थप उल्लेख्य मात्रामा नेपाली पर्यटकको आगमन भएको बताइएको छ। जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश सुवेदीले बेनी—जोमसोम सडकमार्गअन्तर्गत म्याग्दी क्षेत्रको बैसरी र महभिरमा सोमबार राति पहिरो गएर सडक अवरुद्ध भएपछि मुक्तिनाथ आउँदै गरेका दर्शनार्थीबीच बाटोमै जाममा परेका बताए। उनले सडक अवरुद्ध भएर बाटोमै रोकिएका दर्शनार्थी पर्यटकहरू एकैसाथ मुक्तिनाथ आउँदा होटल व्यवस्थापन तथा अन्य सुविधा प्रदान गर्न अप्ठ्यारो परेको बताए।

 

बुधबार मुक्तिनाथ मन्दिर परिसरमा दर्शन गर्ने दर्शनार्थीको रौनकले गुल्जार बनेको थियो। बिहानैदेखि अपरान्हसम्म दर्शनार्थीको भीडले मन्दिर परिसर खचाखच भरिएको थियो। मुक्तिनाथको १०८ धारा र मुक्तिनाथ कुण्डमा स्नान गर्ने, मुक्तिनाथको दर्शन गर्न लाइनमा बसेका दर्शनार्थीको बाक्लो उपस्थिति रहेको जनप्रिय युवा क्लब मुक्तिनाथका अध्यक्ष कैसाङठोक्या ठकुरीले जानकारी दिए। उनका अनुसार क्लबले ठेक्का लिएर चलाएको रानीपौवा बसपार्कमा बस, जिप कार र मोटरसाइकल पार्किङले ट्राफिक व्यवस्थापनमा समेत समस्या परेको थियो।

 

भाइटीकापछि मुस्ताङ प्रवेश गर्ने सवारीसाधनको (बेनी—जोमसोम­­) सडकमार्गमा ताँती नै लागेको थियो। मुक्तिनाथ बसपार्कबाट मन्दिर पुग्न आधा घण्टा ठाँडो उकालो पैदल उक्लन पर्छ। मन्दिर उक्लन नसक्ने दर्शनार्थीका लागि त्यहाँ सशुल्क घोडाको व्यवस्थासमेत गरिएको छ। मुक्तिनाथस्थित ४ वटा गाउँका करिब १२० घरधुरीले दर्शनार्थीलाई मुक्तिनाथ उक्लिन नसक्नेका लागि घोडा चढाएर मन्दिरसम्म लैजाने व्यवस्था छ। नेपालीका लागि ४ सय र भारतीयका लागि ४ सय भारु शुल्क लिएर त्यहाँ घोडाबाट मुक्तिनाथ लैजाने सेवा प्रदान गरिएको हो। यसले स्थानीय नागरिकलाई वैकल्पिक आम्दानीका साथै लोपोन्मुख अवस्थामा रहेका परम्परागत घोडाहरूको संरक्षणमा समेत टेवा पुगेको छ।

 

प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ दर्शनका लागि मुस्ताङ आएका दर्शनार्थीमध्ये एक तिहाइ दर्शनार्थीले कोरलानाका अवलोकनका लागि उपल्लो मुस्ताङ प्रस्थान गरेको बताइएको छ। दसैं—तिहार र छठ पर्वका लामो बिदामा नेपाली आन्तरिक पर्यटकहरूको रोजाइ मुस्ताङ बनेकै कारण मुक्तिनाथको दर्शन गर्ने प्रयोजनमा आएकाहरू कोरलानाकासम्म जाने गरको पाइएको छ।

Share: