सिद्धार्थ बैंक लिमिटेड, नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक

55
0
Share:

काठमान्डौ/सिद्धार्थ बैंक क्रिकेट संघ नेपाल (क्यान)द्वारा आयोजना हुन गइरहेको नेपाल प्रिमियर लिग २०२४ देखि २०२९ सम्म (५ वर्ष)को मुख्य प्रायोजकका रुपमा आवद्ध भएको छ ।

 

क्यानले कार्तिक ३० गते क्यानका पदाधिकारीहरु, बैंक सञ्चालक समितिका अध्यक्ष मनोजकुमार केडिया, सञ्चालक समितिका सदस्यहरु, बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, व्यवस्थापन समूह, बैंकको भगिनी संस्थाका अध्यक्षहरु र प्रमुख कार्यकारी अधिकृतहरुको उपस्थितिमा एक कार्यक्रम आयोजना गरी नेपाल प्रिमियर लिगको मुख्य प्रायोजक सार्वजनिक गरेको थियो ।

 

नेपालको क्रिकेट जगत्लाई थप उचाइमा पुर्‍याउने उद्देश्यका साथ सिद्धार्थ बैंक यस लिगसँग जोडिएको धारणा बैंकका अध्यक्ष मनोजकुमार केडियाले व्यक्त गरेका थिए । पछिल्ला दिनहरूमा क्रिकेट खेलले सबै उमेर समूहका मानिसहरूमा अत्याधिक लोकप्रियता प्राप्त गरेको र खेलभन्दा बढी राष्ट्रिय भावनाको रूपमा हेर्ने गरिएकोले पनि बैंक नेपाल प्रिमियर लिगको ५ वर्षको लागि मुख्य प्रायोजकको रुपमा जोडिएको हो ।

 

यस समन्वयले नेपालको क्रिकेट विकासमा योगदान गर्दै खेलाडीहरूमा प्रतिस्पर्धात्मक अनुभव प्राप्त गर्न मद्दत पुर्‍याउने बैंकले विश्वास लिएको छ । नेपाल प्रिमियर लिगको प्रथम संस्करण आगामी मंसिर १५ देखि पुष ६ गतेसम्म कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुँदै छ ।

Share: