Warning: opendir(/home/nepalbaa/lekhanpeeth.com/wp-content/mu-plugins): failed to open dir: Permission denied in /home/nepalbaa/lekhanpeeth.com/wp-includes/load.php on line 981
चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्स कम्पनीहरूलाई पर्यटनमन्त्रीकोे निर्देशन – Lekhanpeeth

चौबिस घण्टाभित्र हवाई भाडादर बुझाउन एयरलाइन्स कम्पनीहरूलाई पर्यटनमन्त्रीकोे निर्देशन

201
0
Share:

काठमान्डौ/संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले अन्तर्राष्ट्र्रिय उडान भर्ने हवाई कम्पनीहरूलाई २४ घण्टाभित्र हवाई भाडादर उपलब्ध गराउन निर्देशन दिएका छन्। हवाई भाडा वृद्धि नियन्त्रणबारे मन्त्रालयमा बोलाएको छलफलमा मन्त्री पाण्डेले यस्तो निर्देशन दिएका हुन्।

 

‘हामीले नागरिककै सेवा भनेर हवाई कम्पनीहरूलाई सहुलियत दिएका थियौँ। तर त्यसको उपहास भएको छ, राज्य र नागरिकप्रतिको दायित्वलाई बेवास्ता गरेर गैरजिम्मेवारीपन देखाइएको छ’, मन्त्री पाण्डेले भने, ‘नागरिकमाथि प्रतिष्ठित व्यापारी र एयरलाइन्सले द्वन्द्व व्यापारजस्तो गर्नुभएको छ। यस विषयले म निकै दु:खी भएको छु।’

 

यसअघि हवाई सेवा कम्पनीहरूले नियामक निकायसँगको छलफलमा भाडा नियन्त्रणका लागि पाँचबुँदे सहमति गरिएको भए पनि त्यसको कार्यान्वयन नगरेको भन्दै पर्यटनमन्त्री पाण्डेले आक्रोश व्यक्त गरे। हवाई भाडा वृद्धिबारे गुनासो बढेपछि परराष्ट्र, श्रम र पर्यटनमन्त्रीबीचको बैठकले समेत हवाई भाडा नियन्त्रणका लागि छलफल गरिएको स्मरण गराउँदै उनले राज्य र नागरिकप्रति जिम्मेवार बन्न एयरलाइन्स कम्पनीहरूलाई चेतावनी दिए।

 

मन्त्री पाण्डेले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स)ले समेत अचाक्ली हवाई भाडा लिएकोप्रति सचेत गराए। नागरिकले हवाई भाडा वृद्धिबारे गरेको गुनासोले आफूलाई बढी चिन्तित तुल्याएको बताउँदै मन्त्री पाण्डेले २४ घण्टाभित्र बिक्री गरेको टिकटको मूल्य उपलब्ध गराउन निर्देशन दिए। पर्यटनमन्त्री पाण्डेले एयरलाइन्सले हवाई भाडा वृद्धिबारे पुर्नविचार नगरे सरकारले कडा कदम चाल्ने स्पष्ट पारे।

 

मन्त्रालयका सचिव डा गणेश पाण्डेयले सम्झौता अनुसार एयरलाइन्सले किन अटेर गरेको भन्दै प्रश्न गरे। नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले एयरलाइन्सले हवाई भाडा नियन्त्रणसम्बन्धी पाँचबुँदे सहमति कार्यान्वयन नगरेको र हवाई टिकटमा कृतिम अभाव देखाउँदै कालोबजारी गरिरहेकाले त्यसलाई नियन्त्रण गरेरै छोड्ने अठोट व्यक्त गरे।

 

छलफलमा सहभागी एयरलाइन्सका प्रतिनिधिले हवाई भाडाबारे सत्यतथ्य जानकारी दिन आनाकानी गरेका थिए। एयरलाइन्सले चार गुणा बढी भाडा लिएको भन्दै आलोचना भएको थियो। छलफलमा नेपालमा सेवा दिदैँ आएका अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका प्रतिनिधिहरूको उपस्थिति थियो।

Share: