
काठमान्डौ/मकवानपुरको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्ध महिलाको ज्यान गएको छ। मनहरी–५ बसन्तपुर गुम्बाटोलमा बाघको आक्रमणबाट धनबहादुर रूम्बाकी श्रीमति ७२ वर्षीया कान्छिमाया रुम्बाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।
रूम्बालाई आइतवार साँझ ५ बजेतिर घर नजिकैको खोल्सामा बाघले आक्रमण गरेको हो। यतिबेला बसन्तपुर गाउँ त्रसित बनेको छ। मृतक रूम्बा घरनजिकै बारीमा घाँस काट्न गएकोमा अबेरसम्म नफर्किएपछि खोजी गरिएको थियो।
आफन्तले खोजी गर्दै जाने क्रममा घरबाट करिब पाँचसय मिटरपूर्व शरीरमा चोट लागेको मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए। घटनाबारे प्रहरीलाई राति करिब १० बजे मात्रै खबर भएको घटनास्थलमा अनुसन्धानका लागि खटिएका सापकोटाले बताए।
चितवन राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्र मध्यवर्ती वनसँग मनहरी जोडिएकाले यहाँ हरेक वर्ष वन्यजन्तुको आक्रमणले जनधनको क्षति हुँदै आएको छ।