
काठमान्डौ/राष्ट्रपति रामचन्द्र पौडेलले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता भएको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रद्धारा काठमाडौमा मंगलबार आयोजित छैठौं श्रम संसदलाई सम्बोधन गर्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।
मुलुकको विकास भनेको केवल आर्थिक र भौतिक मात्र नभइ यससँग मानवीय विषय पनि उत्तिकै जोडिएको उल्लेख गर्दै उनले प्राकृतिक स्रोत साधन र पूँजीको परिचालन श्रमजीवि वर्गले गर्ने बताए ।
“श्रम र पूँजीलाई संगै अघि बढाउन आवश्यक छ, त्यसैले श्रमप्रतिको सम्मान गरी श्रम र श्रमिक केही हुन भन्ने मान्यतालाई विशेष जोड दिएर मुलुकले चाहेको आर्थिक र भौतिक विकासको गति अघि बढाउनु आजको आवश्कता हो भन्ने मलाई लाग्दछ”, उनले भने ।
आफ्नो राजनीतिक जीवनमा देशको सामाजिक र आर्थिक रुपान्तरणका लागि कृषक, श्रमिक तथा मजदुरको सम्मानको विषयलाई आफूले सदैव प्राथमिकता दिएको उनले स्मरण गरे।
“निमुखालाई न्याय अनि विपन्नलाई आय र श्रमको सम्मान गर्ने संस्कृति नै यो देशको विकासको आधार हो भन्ने विषयलाई मैले सदैव जोड दिँदै आएको छु, सफल राजनीतिक परिवर्तनपछि देशले चाहेको विकास र समृद्धिको आधार पनि हामीले यही अवधारणाको जगमा खोज्नुपर्दछ”, राष्ट्रपति पौडेलले भने ।