विपीनको रिहाइका निम्ति कतारका मन्त्रीसँग परराष्ट्रमन्त्रीको फोनवार्ता

Share:

काठमान्डौ/परराष्ट्रमन्त्री आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपीन जोशीको रिहाइका लागि कतारका विदेश राज्यमन्त्री डा.मोहम्मद बिन अब्दुलाजिज अल‐खुलाइफीसँग फोनवार्ता गरेको बताएकी छिन् ।

 

अहिले हमास र इजरायलबीच युद्धविराम गराउने विषयमा कतारको दोहामा वार्ता चलिरहेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यही हप्ताभित्र वार्ता निष्कर्षमा पुग्नेछ । यही हप्ताभित्र हुने भनिएको हमास–इजरायल युद्धविरामका क्रममा हमासले ३३ जना बन्धक रिहा गर्ने बताइएको छ । तर, हमासले एकैपटक ३३ जना बन्धक रिहा गर्न लागेको होइन ।

 

बीबीसीका अनुसार युद्धविरामको सम्झौता भएको पहिलो दिन हमासले तीनजना बन्धक रिहा गर्नेछ । यसको बदलामा इजरायलले गाजा क्षेत्रको बस्ती भएका स्थानबाट आफ्ना सैनिक फिर्ता बोलाउनेछ । यसको सात दिनपछि हमासले चारजना बन्धक रिहा गर्नेछ । यसको बदलामा इजरायलले गाजाको दक्षिणी क्षेत्रमा थुप्रिएका मान्छेलाई उत्तरी क्षेत्रतर्फ आउन दिनेछ ।

 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो पहिलो चरणको युद्धविराम सम्भवतः ४२ दिनको हुनेछ । यो पहिलो चरणमा इजरायलले आफ्नो जेलमा रहेका एक हजार प्यालेस्टिनी बन्धक रिहा गर्नेछ । यही युद्धविरामको १६औँ दिनमा दोस्रो र तेस्रो चरणको युद्धविरामका लागि वार्ता हुनेछ । इजरायलको पत्रिका टाइम्स अफ इजरायलका अनुसार पहिलो चरणमा रिहा हुने ३३ जनामा बालबालिका, महिला, महिला सैनिक र वृद्धहरू हुनेछन् ।

 

पहिलो चरणको युद्ध विराम भएको १६औँ दिनमा हुने वार्ताका क्रममा बाँकी रहेका बन्धकको रिहाइका लागि कुराकानी हुनेछ । यो वार्ताका क्रममा पुरुष सैनिक, युवा, र मृत्यु भएका बन्धकको शरीर हमासले फिर्ता गर्नेछ । ७ अक्टोबर २०२३ मा हमासले इजरायलमा हमला गरेपछि २५१ जनालाई बन्धक बनाएर आफ्नो साथमा लगेको थियो ।

 

२५१ जना बन्धक मध्ये १५७ जना रिहा भइसकेका छन् । सन् २०२३ को २४ नोभेम्बरदेखि ३० नोभेम्बरसम्म भएको युद्धविरामका क्रममा हमासले १०९ जना बन्धक रिहा गरेको थियो । आठजना बन्धनकको इजरायली सेनाले उद्धार गरेको थियो । हमासको नियन्त्रणमा रहेकामध्ये ३७ जना बन्धक मृत फेला परिसकेका छन् । त्यसैगरी इजरायली सेनाको आक्रमणमा परेर तीनजना बन्धकको मृत्यु भएको छ ।

 

अहिले हमासको नियन्त्रणमा ९४ जना छन् । इजरायली सरकारका अनुसार ती ९४ जनामध्ये ३४ जनाको मृत्यु भइसकेको छ । ६० जना मात्र जीवितै हमासको नियन्त्रणमा छन् । हमासले मृतकको शरीर पनि आफ्नो कब्जामा राखेको छ ।

 

होस्टेज एन्ड फ्यामिली फोरमका अनुुसार हमासको नियन्त्रणमा एकजना पाँच वर्षका र एकजना डेढ वर्षका बालक छन् ।

Share: