पेस्तोल बोकेर नाचेको भिडियो भाइरल भएपछि प्रहरीले सोधपुछका लागि डा.बबी सिंहलाई बोलायो

37
0
Share:

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालकी केन्द्रीय नेता डा.बबी सिंह यादवको पेस्तोल बोकेर नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएसँगै प्रहरीले त्यसबारे छानविन सुरु गरेको छ । जसपा नेपालकी केन्द्रिय सदस्य डा. सिंहले डान्स गर्दै पेस्तोल पड्काएको भिडियो भाइरल भएकाे हाे ।

त्यसबारे छानबिन गर्न डा. सिंहलाई बोलाएको सप्तरीका एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

पेस्तोल ‘खेलौना’ वा सक्कली हो भन्नेबारे छानबिन गरिने एसपी खतिवडाले बताए ।

डा. सिंहले के भनिन्?

जसपा नेपालकी केन्द्रीय नेता डा.बबी सिंह यादवको एउटा भिडियो भाइरल भएपछि उनले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएकी छन् । उनी पेस्तोल पड्काउँदै नाचेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।

यससँगै एक विज्ञप्ति जारी गर्दै भनिन्- ‘भारतको सीमावर्ती सहर सीतामढीमा मेरो मामाकी छोरी (बहिनी) को वैवाहिक समारोहमा स्थानीय चलन अनुसार आफन्तको निजी निवासस्थित आँगनमा आफ्ना भाइ बहिनीहरूको आग्रहलाई स्वीकार गरी नृत्य गर्दा मैले ‘रेन्जर टोइ’ नामक खेलौनाले गरेको फायरलाई अतिरञ्जित नबनाई दिनु हुन यहाँहरू सम्पूर्णलाई हार्दिक अनुरोध गर्दछु ।’

उनले भनेकी छन्, ‘मेरो मामाको घरमा अत्यन्तै व्यक्तिगत र पारिवारिक समारोहमा एक छिन भाइबहिनी र परिवारका सदस्यहरूसँग रमाइलो गर्दा खिचिएको सो भिडियोलाई कुनै तथाकथित ‘युट्युब पत्रकार’ले सन्दर्भ र अनुमति बिना आफ्नै सामग्रीजस्तो गरी सामाजिक सञ्जालमा प्रस्तुत गर्नु पत्रकारिताको अपमान मात्र होइन, प्रेस आचारसंहिताको उल्लङ्घन पनि हो, जसको म घोर भर्त्सना गर्दछु ।’

 

Share: