ब्रान्डको नाममा ब्रह्मलुट : डिपलको इभि गाडीमा उपभोक्ता ठग्दै बिष्णु अग्रवाल

19
0
Share:

काठमाडौं । बिष्णु अग्रवाल ठूला घरानाका एक चर्चित व्यापारी । तर उनको काम सुन्दा भने तपाइलाई अचम्म लाग्न सक्छ । कम क्षमताका विभिन्न ब्रान्डका गाडीहरू नेपाली उपभोक्तालाई महङ्गोमा भिडाइँदै अकुत सम्पति कमाउने उनको दिनहुँको धन्दा हो भन्दा फरक पर्दैन । नेपाल उद्योग परिसंघको अध्यक्ष भईसकेका अग्रवाल सोहि प्लाटफर्मलाई हतियार बनाउँदै आएका छन् ।

अग्रवाल अहिले यामाहा, जिप, स्कोडा, जेसिबी, लेट, फोटोन, एमएडब्लु इन्जिनियरिङ, एमएडब्लु इन्भेस्मेन्ट, एस्कर्ट, बेस एण्न्ड ट्रेबललगायत कम्पनीका मालिक हुन् । अग्रवालले यतिबेला डिपल ,फोटोन र सेरेसजस्ता ब्रान्डका विद्युतीय सवारीसाधनबाट लुट मच्चाई रहेका छन् ।

वातावरणमैत्री, ईन्धन खर्च कम र प्रविधिमैत्री भन्दै नेपालमा विद्युतीय सवारीसाधन (इभी) प्रति आकर्षण आकर्षण देखाइरहेका बेला केही व्यवसायीहरू भने मौकाको फाईदा उठाउँदै उपभोक्ता ठग्न थालेका छन् । हालै डिपल अटो टेक नामक कम्पनीका प्रमोटर बिष्णु अग्रवालले चिनियाँ सस्तो गुणस्तरका गाडी आयात गरी कम क्षमताका इभी अत्यधिक मूल्यमा बिक्री गरिरहेको खुलासा भएको छ । केहि समय अघि सार्वजनिक भएको एक घटनामा अग्रवालले कम क्षमताका इभी गाडीहरूलाई नेपाल भित्र्याएर महङ्गो मूल्यमा ग्राहकलाई बिक्री गर्दै आएको तथ्य खुलासा भएको हो ।

उक्त कम्पनीले चीनबाट सस्तो मूल्यमा कम गुणस्तरका इलेक्ट्रिक गाडीहरू आयात गर्ने र नेपालमा ती गाडीहरूलाई अत्याधुनिक, उन्नत प्रविधियुक्त र उच्च क्षमतायुक्त भन्दै झुटा विवरण देखाएर प्रचार प्रसार गर्दै आएको छ । सार्वजनिक तथ्यअनुसार डिपल अटो टेकका गाडीहरू बजार मूल्यभन्दा दोब्बर, तेब्बर मूल्यमा बिक्री गरिंदै आएको छ । ग्राहकहरू आकर्षक विज्ञापन र ‘इको -फ्रेन्डली’ सुविधाका नाममा ठगिँदै आएका छन् ।

कम्पनीले चीनबाट प्रति युनिट ८–१० लाख रुपैयाँमा ल्याइएका इभीहरूलाई २५–३५ लाख रुपैयाँसम्ममा बिक्री गर्ने गरेको खुलेको छ । ती गाडीहरूमा दाबी गरिएझैं ब्याट्री क्षमता, माइलेज र चार्जिङ समय नभएको पाइएको छ ।

नेपालमा इभी गाडीकै व्यवसाय संचालन गर्दै आएका एक व्यापारीका अनुसार बिष्णु अग्रवालले ब्रान्डिङ र प्रचारप्रसारमा व्यापक लगानी गर्दै गाडीको वास्तविक प्रदर्शन, ब्याट्री क्षमतादेखि लिएर चार्जिङ समय, र माइलेजसम्बन्धी तथ्यहरू लुकाउने र ग्राहकलाई भ्रममा पार्ने रणनीति अपनाउने गरेका छन् । डिपल गाडी खरिद गरेका ग्राहकले प्रयोग गरेको केही महिनामै गाडीमा समस्या देखिन थालेपछि अग्रवालको धन्दाको पर्दाफास भएको हो ।

अग्रवालले उच्च गुणस्तरीय भन्दै इभी गाडी बिक्री गरेका ग्राहक शिव श्रेष्ठ भन्छन्, – “कम्पनीले ३०० किलोमिटर माइलेज दिने दाबी गरे पनि मेरो गाडीले अधिकतम १५० किलोमिटर मात्र चल्छ । चार्जिङमा पनि दोब्बर समय लाग्छ ।”  “३२ लाखमा किनेको गाडी कम्पनीको विज्ञापनअनुसार ३०० किलोमिटर चल्नुपर्ने हो, तर मैले कहिल्यै १५० किलोमिटरभन्दा बढी चलाउन सकेको छैन । ब्याट्री पनि चाँडै डाउन हुन्छ, चार्ज गर्न ८–१० घण्टा लाग्छ ।” उनले भने ।

आग्रवालले संचालन गर्दै आएको डिपल, फोटोन र सेरेसजस्ता ब्रान्डका विद्युतीय सवारीसाधनमा यस्ता गुनासा दिनदिनै बढ्न थालेका छन्, तर कम्पनीले जिम्मेवारी लिन अस्वीकार गर्दै आएको छ ।

यसरी दिनहुँ उपभोक्ता ठगिरहँदा समेत नेपाल सरकार, यातायात व्यवस्था विभाग र उपभोक्ता संरक्षण अधिकार निकायहरूले समेत कुनै चासो देखाएका छैनन् । दिनहुँ सयौंका संख्यामा गुनासो आउने गरेको भए पनि हालसम्म यसबारे कुनै ठोस अनुसन्धान सुरु भएको छैन् । यसले अग्रवालको ठगी धन्दालाई थप प्रोत्साहन दिएको आरोप उपभोक्ताहरूको गुनासो छ । यातायात व्यवस्था विभाग, वाणिज्य विभाग र उपभोक्ता संरक्षण निर्देशनालयको संयुक्त पहलमा डिपल अटो टेक लगायत अन्य कम्पनीहरूको समेत निरीक्षण हुनुपर्ने व्यवसायीहरुको सुझाव छ ।

नेपालमा इभी गाडीको प्रबर्द्धन गर्नु राम्रो कुरा हो, तर उपयुक्त मापदण्ड, परीक्षण र अनुगमन प्रणालीको अभावले गर्दा यस्ता ठगीहरू झनै बढ्ने खतरा बढेको प्रविधि विज्ञहरू बताउँछन् । त्यस्तै नियमसंगत ढंगबाट व्यापार गर्दै आएका केही व्यवसायिक प्रतिस्पर्धीहरूले समेत अग्रवालको ठगी धन्दा र व्यापारिक मोडेलप्रति प्रश्न उठाउँदै आएका छन् ।

डिपल अटो टेकको यो व्यवसायिक अभ्यासले इभी बजारमा विश्वास गुमाउने खतरा बढाएको र इभी खरिद गर्न चाहने ग्राहकहरूमा आशंका उब्जाएको एक इभी व्यवसायीको गुनासो छ ।

त्यस्तै, चितवनका नारायणले पनि गाडी लिएको ५ महिनामै मोटरमा समस्या देखिएपछि गुनासो गर्दा कम्पनीले प्राविधिक सेवा दिन आनाकानी गरेको बताउँछन् । उनी भन्छन्, ‘विज्ञापन हेरेर गाडी खरिद गरियो । भनेको जस्तो मईलेज पनि छैन । भनेको समयमा ब्रेक लाग्दैन कम्पनीलाई भन्यो सुन्दै सुन्दैन ।”

यातायात व्यवस्था विभागका अधिकृतका अनुसार, डिपल अटो टेकले आयात गर्ने अधिकांश गाडीहरूमा कुनै आधिकारिक परीक्षण प्रमाणपत्र छैन । न त ती गाडीहरू नेपालको सड़कीय सुरक्षाका मापदण्ड अनुसारका छन् । उनी भन्छन्,- “कतिपय कम्पनीहरूले मोटर व्यवसाय गर्ने अनुमति त लिन्छन्, तर आयात गर्ने गाडीहरूको गुणस्तर परीक्षणको प्रक्रिया नै छल्छन् । हामीले केही उजुरी पाएपछि प्रारम्भिक अनुगमन भने गरिरहेका छौं ।”

त्यसो त नेपालको उपभोक्ता संरक्षण ऐन २०७५ अनुसार, कुनै पनि व्यवसायले वस्तुको गुणस्तरबारे झुटा वा भ्रामक प्रचार गर्न पाईदैन । ऐनको धारा १६ अनुसार, यदि कुनै वस्तु वा सेवा गलत विवरण दिएर बिक्री गरिन्छ भने त्यो आपराधिक ठगी अन्तर्गत आउँछ, जसमा १ लाख रुपैयाँसम्म जरिवाना र १ वर्षसम्म कैद सजायको व्यवस्था छ ।

यस सम्बन्धमा कानून व्यवसायी अधिवक्ता सागर पौडेल भन्छन्, – “डिपल अटोले प्राविधिक परिक्षण बिना बजारमा जनमानसको सुरक्षामा खेलवाड गरिरहेको छ, यसले कानुनी राज्यको उपहास उडाईरहेको छ सरकारले यसको उचित छानबिबन गरि मापदण्ड विपरितको ईजाजत रद्द सम्म गर्नुपर्छ” ।

नेपालमा विद्युतीय गाडीको बजारमा सरकारको स्पष्ट मापदण्ड र नियमित अनुगमनको अभाव देखिएको छ । आयातित गाडीको गुणस्तर परीक्षण, बिक्रीपछिको सेवा र स्पेयर पार्ट्सको सुनिश्चितता सम्बन्धी कुनै ठोस नीति लागू गरिएको छैन । जसको फाइदा उठाउँदै केही व्यवसायीहरूले बजारमा ‘इको’को नाममा ‘इमोसनल’ व्यापार गरिरहेका छन् ।

Share: