गभर्नर नियुक्तिको विषयमा संसद्‌मा प्रश्न 

77
0
Share:

काठमाडौं ।  नेपाल राष्ट्र बैंकको गभर्नर पद एक महिनादेखि रिक्त रहँदा समेत सरकारले नयाँ गभर्नर नियुक्त गर्न नसकेको विषयमा संसदमा प्रश्न उठेका छन् ।

पूर्व गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल गत चैत २४ गते सकिएपछि गभर्नरको पद रिक्त भएको हो । त्यसयता वरिष्ठ डेपुटी गभर्नर निलम ढुङ्गानाले कायम मुकायम गभर्नरको जिम्मेवारी सम्हाल्दै आइरहेकी छन् ।

तर, एक महिनासम्म पनि स्थायी नियुक्ति हुन नसक्दा सांसदहरूले संसदको बुधबारको बैठकमा सरकारप्रति कडा आलोचना गरेका छन् ।

सांसदहरूले सरकारले गभर्नर नियुक्ति राजनीतिक भागबन्डाको रूपमा लिँदा ढिलाइ गरेको भन्दै तत्काल नयाँ गभर्नर नियुक्ति गर्न माग गरेका छन् । सांसदहरूले अर्थतन्त्र शिथिल भएको अवस्थामा राष्ट्र बैंक जस्तो संवेदनशील स्थानमा गभर्नर नियुक्ति गर्न नसक्नु अर्थतन्त्र गतिशील बनाउने दिशा भन्दा पनि अर्थतन्त्र अप्ठ्यारोमा राख्ने काम गरेको आरोप सरकारलाई लगाएका छन् ।

गभर्नर नियुक्तिका विषयमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सरकारले गभर्नर नियुक्तिमा लामो समय खर्च गरेको भन्दै असन्तुष्ट व्यक्त गरिन् । सांसद डाँगीले सरकारले गभर्नर नियुक्तिमा समय खेर फालेको उल्लेख गरिन् । सांसद डाँगीले भनिन्, ‘मेरिटोक्रेसीका आधारमा पनि गभर्नर नियुक्ति गर्न सकिन्छ । सरकारको समय यस्तो हावादारी काममा खर्च नगर्न म सुझाव दिन्छु । वर्षायाम सुरु भएको छ । राजधानी जोड्ने प्रमुख सडक असुरक्षित छन् लाखौँ नागरिक जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । सरकारले यता समय खर्च गरोस् ।’

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीकै सांसद चन्दा कार्कीले सरकारले राष्ट्र बैङ्कको गभर्नर नियुक्ति नगरेको भन्दै असन्तुष्टि जनाइन् ।

‘गभर्नरको कार्यकाल सकिएको एक महिनाभन्दा बढी भइसक्यो। तर आजसम्म त्यो पद खाली छ। आजसम्म सरकार मौन र निर्णयविहीन भएर बसेको छ,‘ सांसद कार्कीले भनिन्, ‘यो एउटा पद खाली भएको विषय मात्रै होइन। देशको अर्थतन्त्र नेतृत्वविहीन भएको सङ्केत हो।’

Share: