
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गएराति ललितपुरको लाकुरी भञ्याङस्थित टेरेस रिसोर्टमा लडेको खुलेको छ ।
उच्च स्रोतकाअनुसार प्रचण्डसहितका व्यक्ति मंगलबार टेरेस रिसोर्टमा रात बिताउने गरी गएका थिए । सोही क्रममा रिसोर्टमा लडेर घाइते भएको उच्च स्रोतले जानकारी दियो ।
गएराति रिसोर्टमा लडेर टाउकामा चोट लागेपछि उनलाई मेडिसिटी अस्पताल ल्याइएको थियो । टाउकामा तीन वटा टाँका लगाएपछि उनी फर्किएका थिए ।
प्रचण्डको सचिवायलय बाथरुममा लडेको बताए पनि कहाँको बाथरुम भन्नेबारे केही पनि उल्लेख गरेको थिएन ।
उनकी छोरी गंगा दाहालले पनि बाथरूममा चिप्लिएर अध्यक्ष प्रचण्डको निधारको बाहिरी भागमा सामान्य चोट लागेको फेसबुकमा लेखेकी थिइन् । तर कहाँ लडेको उल्लेख गरेकी थिइनन् । ‘गएराति बाथरुममा चिप्लिएर बुवाको निधारमा सामान्य बाहिरी चोट लागेकोले नजिकैको मेडिसिटी अस्पतालमा सामान्य चेकजाँचपछि घर फर्केर नियमित काममा संलग्न हुनुभएको जानकारी गराउँदछु। बुवाको स्वास्थ्यबारे चासो र चिन्ता राख्नुहुने सबैमा धन्यवाद!,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी थिइन्।