
काठमाडाैं । प्रभु क्यापिटल लिमिटेडले आफ्नो तेस्रो म्युचुअल फण्ड सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट अनुमति पाइसकेको छ । कम्पनीले गत चैत २७ गते ४० करोड रुपैयाँ बराबरको खुलामुखी योजना सार्वजनिक निष्कासन गर्न अनुमति पाएको हो ।
क्यापिटलले अंकित मूल्य १० रुपैयाँ दरको ४ करोड इकाई भएको प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट स्किम योजना जारी गर्न स्वीकृति पाएको हो ।
क्यापिटलको यो खुलामुखी योजना हो । क्यापिटलका दुई बन्दमुखी योजनाहरुमा प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्ड दोस्रो बजारमा सूचीकृत छन् ।
कुनै लगानीकर्ता यस्ता खुलामुखी योजनाको सार्वजनिक निष्कासनको अवधिमा लगानी गर्न छुटेमा पनि अहिले क्यापिटलहरुले सिस्टमेटिक इन्भेष्टमेन्ट प्लान (एसआईपी)ल्याएका छन् । जसमार्फत लगानीकर्ताहरुले ढुक्कसँग यस्ता खुलामुखी योजना लगानी गर्न सक्नेछन् । यस्ता योजनाका इकाइ साना तथा मझौला लगानीकर्ताको हातमा पुर्याउनका लागि तिनको सञ्चालन गर्ने क्यापिटलहरुले एसआइपी योजना ल्याएका छन् ।
प्रभु क्यापिटलले पनि अब यो खुलामुखी योजना सार्वजनिक निष्कासन गरेपश्चात् साना तथा मझौला लगानीकर्तालाई मध्यनजर गर्दै एसआइपी योजना ल्याउनेछ ।
एसआइपी भनेको एउटा निश्चित समयसम्म नियमित रुपमा लगानी गर्ने योजना वा माध्यम हो । न्यूनतम एक हजार रुपैयाँबाट नै यस योजनामा आबद्ध हुन सकिनेछ ।