
काठमाडौं । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले सरकार निराशालाई आशामा परिणत गर्न अघि बढिरहेको बताएका छन् ।
आज प्रतिनिधिसभा बैठकमा उनले निराशाको सञ्चार संसद्बाटै गरिएको भन्दै आपत्ति जनाए । संसद्को तेजोवध गर्ने गरी संसद् नीरस रहेको अभिव्यक्ति आएको बर्तौलाको भनाइ छ ।
उनले नागरिकको भरोसा टुटाउने गरी प्रायोजित अभिव्यक्ति दिइएको आरोपसमेत लगाए । उनले दुई पार्टी मिलेर बनेको सरकारले काम गर्न नसकेको आरोपको खण्डन गरे । आफू सत्तामा भएको भए जादूगरले जसरी गर्छु भनेर भ्रम फैलाइएको उनको भनाइ छ ।
“जादुगरले कागजको पत्ता राखेर हजारको नोट फुत्त निकाल्छ । तर, त्यो सत्य होइन । त्यो केवल भ्रम हो । संसद्मा पनि यस्ता प्रवृत्ति देखिरहेका छौँ । जादुगरले पैसाको नोट निकालेजस्तो जादुवाला नम्बर भएकाबाट यस्ता अभिव्यक्ति सुनिरहेका छौँ, त्यो क्षणिक भ्रम हो,” उनले भने ।