
काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल एसबीआई बैंक र शाइन रेसुंगा डेभलपमेन्ट बैंकलाई ऋणपत्र जारी गर्न अनुमति दिएको छ । नेपाल एसबीआई बैंकले ‘नेपाल एसबीआई बैंक डिबेन्चर’ र शाइन रेसुंगा डेभलपमेन्ट बैंक ‘शाइन रेसुंगा डिबेन्चर’ जारी गर्नेछन् ।
नेपाल एसबीआई बैंकले कुल ३ अर्ब रुपैयाँको ऋणपत्र ल्याउनेछ । जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख इकाइ बिक्री गर्नेछ । जसमा १८ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।
एसबीआई बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा लगानीकर्ता वार्षिक ७ प्रतिशत ब्याज पाउनेछन् । एसबीआई बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।
यसैगरी शाइन रेसुंगा डेभलपमेन्ट बैंकले कुल १ अर्ब रुपैयाँको ऋणपत्र ल्याउनेछ । जसअनुसार बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल १० लाख इकाइ बिक्री गर्नेछ । जसमा ६ लाख इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने बाँकी ४ लाख इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको यो ऋणपत्र १० वर्षे अवधिको हो । यसमा लगानीकर्ता वार्षिक ८ प्रतिशत ब्याज पाउनेछन् ।
शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईएमबी एस क्यापिटल रहेको छ ।