विद्युत अवरोध लोडसेडिङ होइन, प्राविधिक समस्या हो: विद्युत प्राधिकरण

16
0
Share:

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चितवनको चनौली वितरण केन्द्रअन्तर्गतका केही स्थानमा देखिएको विद्युत आपूर्तिको अवरोध लोडसेडिङ नभई प्राविधिक समस्याका कारण भएको बताएको छ ।

आइतबार प्राधिकरणले एक विज्ञप्ति जारी गर्दै प्रष्टीकरण दिएकाे हाे । प्राधिकरणले सामाजिक सञ्जालमा ‘लोडसेडिङ तालिका’ भनेर भ्रामक प्रचार गरिएको भन्दै आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

‘लोडसेडिङ अब नेपालका लागि इतिहास भइसकेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘त्यसैले यस्ता हल्लामा नलाग्न आम उपभोक्तालाई अनुरोध गर्दछौं।’

प्राधिकरणका अनुसार चनौली वितरण केन्द्रले आपूर्ति गर्ने चनौली ३३/११ केभी (बसेनी) सबस्टेसनबाट न्यू भरतपुरतर्फ जाने ३३ केभी लाइनमा अत्यधिक लोड परेकाले समस्या देखिएको हो । वर्षा याममा पर्याप्त वर्षा नहुँदा आँधीखोलाको सिँचाइ प्रणालीको लोड अत्यधिक बढेको र यसले विद्युत प्रणालीमा चाप थपेको प्राधिकरणले जनाएको छ ।

यस समस्याको समाधानस्वरूप ट्रान्सफर्मर फेर्ने र लोड व्यवस्थापन गर्नुपर्ने भएकाले केही समयका लागि विद्युत अवरुद्ध हुने तालिका सार्वजनिक गरिएको हो । तर यसलाई ‘लोडसेडिङ तालिका’ भनेर प्रचार गर्नु गलत र भ्रामक भएको प्राधिकरणको भनाइ छ ।

विज्ञप्तिमा भनिएको छ, ‘खडेरीका कारण अत्यधिक मात्रामा बढेको सिँचाइ लोड व्यवस्थापन गर्न लाइन तथा ट्रान्सफर्मरहरू अदली-बदली गर्नुपर्ने भएकोले समय तालिका प्रकाशित गरिएको हो। यसलाई लोडसेडिङ भन्न मिल्दैन।’

प्राधिकरणले दीर्घकालीन समाधानका लागि बसेनी १३२ केभी सबस्टेसनबाट चनौलीसम्म नयाँ ३३ केभी लाइन निर्माण अन्तिम चरणमा पुगेको र उक्त कार्य सम्पन्न भएपछि समस्याको स्थायी समाधान हुने विश्वास व्यक्त गरेको छ ।

प्राधिकरणले केही मिडिया तथा सामाजिक सञ्जाल प्रयोगकर्ताले हल्ला फैलाएकोप्रति असन्तुष्टि जनाउँदै आगामी दुई–तीन दिनभित्र नै नियमित विद्युत आपूर्ति पुनः सुनिश्चित गरिने जानकारी दिएको छ ।

width=930www.onlinepana.com/wp-content/uploads/2025/07/electricity-558×768.png 558w, www.onlinepana.com/wp-content/uploads/2025/07/electricity-768×1057.png 768w sizes=(max-width: 930px) 100vw, 930px />

Share: