
काठमाडौँ/मोहन वैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीका नेता सिपी गजुरेलले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रविरोधी कामहरू गरिरहेको आरोप लगाएका छन् ।आइतबार इच्छुक सांस्कृतिक प्रतिष्ठानले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री दाहालले लगातार जनविरोधी र राष्ट्रविरोधी कामहरू गरिरहेको आरोप लगाउँदै जनताका बीचमा लगेर ती कामहरूलाई उजागर गर्न जरुरी रहेको बताए ।
विश्वकप लिग टु क्रिकेटको आफ्नो अन्तिम खेलका क्रममा प्रधानमन्त्रीका रूपमा दर्शक बनेर कीर्तिपुर खेल हेर्न पुग्दा प्रधानमन्त्रीविरुद्ध नाराबाजी लागे पनि प्रधानमन्त्रीलाई त्यसको लाज नलागेको बताए ।उनले देशमा यसअघि अत्याचार, शोषण, महँगी र बेरोजगारी यति धेरै नरहेको उल्लेख गर्दै गणतन्त्र पछिको समाजवाद उन्मुख व्यवस्थाले झनै विसङ्गति पैदा गरेको आरोप लगाए । उनले सत्तामा रहेको माओवादी र विद्रोही माओवादीबीच कार्यगत एकताको प्रयास भएपनि सफल नभएको बताए ।
गजुरेलले माओवादीहरू डराएर एकजुट भए भन्ने कुरा गलत रहेको बताए । उनले अहिले पनि माओवादीहरू एक ठाउँमा नरहेको स्पष्ट पारे । नेता गजुरेलले जनयुद्धका मुद्दा माओवादीलाई लगाएर फौजदारी कसुरमा सजाय गराउने पक्षमा अदालत रहेको आरोप लगाए ।माओवादीहरूको नेतृत्वले विश्वासघात गर्दा सबै माओवादीहरू अहिले दुरावस्थाबाट गुज्रिनु परेको उल्लेख गर्दै उनले जनयुद्धमा भएका घटना अदालतले हेर्ने गरी योजना बनाइएको पनि बताए ।
नेता गजुरेलले जनयुद्धमा भएका घटनाहरूमा माओवादीलाई दोष लगाइ अपराधीकरणको फैसला सुनाउने योजना रहेको आरोप लगाए ।