आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरमा जाने सहमती

153
0
Share:

काठमाडौँ/आइएमई जनरल र प्रुडेन्सियल इन्स्योरेन्सबीच मर्जरमा जाने सहमती जुटेको छ। आज  एक कार्यक्रमकाबीच दुवै कम्पनीका अध्यक्षले सम्झौतामा हस्ताक्षर गरेर मर्जरमा जाने सहमतिलाई औपचारिकता दिएका हुन्।बीमा कम्पनीको नियामक नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल तथा मर्जर कमिटिका संयोजक अम्बिका प्रसाद पौडेलको उपस्तिथीमा आएमई जनरल इस्योरेन्सका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्सका अध्यक्ष बिशाल अग्रवालले सम्झौतामा हस्ताक्षर गरेका हुन्।

 

दुवै कम्पनीका अध्यक्षले मर्जर सम्झौतामा हस्ताक्षर गरेसँगै नेपालका दुई ठुला व्यवसायिक घराना बिशाल ग्रुप र आइएमई ग्रुपको लगानीको निर्जीवन वीमा कम्पनी देशकै धेरै चुक्तापूंजी भएको कम्पनी बन्न पुगेको छ। मर्जर पश्चात बन्ने ‘आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड’ को चुक्तापुंजी ३ अर्ब २५ करोड पुग्नेछ।

 

सम्झौताअनुसार दुवै कम्पनीबीच स्वाप अनुपात समान हुनेछ अर्थात एक बराबर एकको स्वाप अनुपात हुनेछ। मर्जर पश्चात बन्ने आइजिआई प्रुडेन्सियलको प्रमुख कार्यकारी अधिकृतमा आइएमई जनरल इन्स्योरेन्स कम्पनीका सिईओ युगेशभक्त वादे श्रेष्ठ हुनेछन् भने अध्यक्षमा हेमराज ढकाल हुनेछन्। दुवै कम्पनीबीच ६० दिन भित्र मर्जर सम्बन्धी सम्पूर्ण प्रकृया सकेर एकीकृत कारोबार थाल्ने लक्ष्य लिईएको छ।

Share: