
काठमाडौँ/ बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभाबाट विश्वासको मत लिनेगरी आज बुधबारका लागि तय भएको कार्यक्रम स्थगित भएको छ ।मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिन दिन र समयसमेत निर्धारण भएकोमा नयाँ गठबन्धनमा रहेका दलहरुबीचको असमझारीका कारण अन्तिम समयमा आएर मुख्यमन्त्रीले विश्वासको मत लिने कार्यक्रम स्थगित गर्नुभएको हो ।
मुख्यमन्त्री जम्कट्टेलका स्वकीय सचिव विजय बुर्लाकोटीले मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिन आज बुधबारका लागि तय भएकोमा स्थगित भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सम्भव भएसम्म शुक्रबार नभए चैत १५ गतेभित्रमा मुख्यमन्त्री जम्कट्टेलले प्रदेश सभाबाट विश्वासको मत लिइसक्ने बताउनुभएको छ ।बागमती प्रदेश सरकारबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बाहिरिने निर्णय गरेसँगै मुख्यमन्त्री जम्कट्टेलले विश्वासको मत लिन लाग्नुभएको हो । प्रदेश सरकारमा रहेका राप्रपाका तीन मन्त्रीले गत फागुन १३ गते मन्त्रीबाट राजीनामा दिएका थिए ।
पछिल्लो गठबन्धनमा सहभागी दलहरुले विश्वासको मत माग्नुपूर्व छलफल नभएको भन्दै असन्तुष्टि जनाउँदैआएका छन् । मुख्यमन्त्रीले विश्वासको मत लिनुपूर्व सत्ता भागबण्डा लगायतका विषयमा दलहरुसँग छलफल नै नगरेको आरोप छ । माओवादी केन्द्रका नेता एवं प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री युवराज दुलालले नेपाली कांग्रेसका प्रदेश सभा सदस्यहरु हेटौँडा आइनसकेकाले बुधबारको विश्वासको मत लिने कार्यक्रम स्थगित भएको बताउनुभयो ।मुख्यमन्त्रीले प्रदेश सभाबाट विश्वासको मत लिनका लागि प्रदेश सभाको बैठक बुधबार दिउँसो ३ बजेका लागि बोलाइएको प्रदेश सभा सचिवालले सूचना जारी गरेको थियो ।
मुख्यमन्त्री जम्कट्टेललाई विश्वासको मत दिने बारेमा छलफल गर्न काठमाडौँमा आज कांग्रेस बागमती प्रदेश संसदीय दलको बैठक बसिरहेको छ । मुख्यमन्त्री जम्कट्टेलले यसअघि गत माघ ३ गते प्रदेश सभाबाट विश्वासको मत लिनुभएको थियो ।
– गोरखापत्र अनलाईन बाट