१८ करोड हिनामिनामा मुछिएका फरार कांग्रेस नेतालाई तत्काल पक्राउ गर्न आईजीपीको निर्देशन

120
0
Share:

काठमाडौँ/ तत्कालिन वेष्टर्न डेभलपमेन्ट बैंक नारायणपुर शाखाबाट १८ करोड रूपैयाँ हिनामिना मुद्दामा फरार यज्ञ वलीलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको समाचार सञ्चारमाध्यममा समाचार आएपछि प्रहरी प्रधान कार्यालय काठमाडौंले चासो देखाएको छ ।नेपाल प्रेसमा फरार अभियुक्त कांग्रेस नेता समेत रहेका वलिलाई पक्राउ गर्न चासो नदिएको र उनलाई जिल्ला प्रहरी प्रमुख एसपी विरबहादुर वलि र डिएसपी राजन गौतमले संरक्षण गर्दै आएको समाचार प्रकाशन भएको थियो ।

 

प्रहरी प्रधान कार्यालय काठमाडौंका केन्द्रीय प्रहरी प्रवक्ता पोषराज पोखरेलले नव नियुक्त आईजीपी वसन्तबहादुर कुवरले फरार अभियुक्तलाई प्रहरीबाट भइरहेको संरक्षण बारे चासो प्रकट गरेको र तत्काल प्रहरी परीचालन गरेर नियन्त्रणमा लिएर अदालतमा बुझाउन निर्देशन दिइसकेको बताए ।

 

उनले घटना वारे प्रहरी प्रधान कार्यालयबाट चासो प्रकट गर्दे एसपी वलि र डिएसपी गौतमलाई तत्काल जवाफ दिन लिखितरुपमा पत्राचार गरिएको पनि जानकारी दिए । यसअघि पनि स्कुटर चोरी प्रकरणलाई चोरलाई मुद्दा नचलाई छाडेको घटना बारेमा जानकार रहेको र प्रतिवेदन हेडक्वाटर आइसकेकाले त्यसमा संलग्नलाई कारवाही हुने पनि उनले बताए ।

 

कांग्रेस दाङका पूर्वजिल्ला सदस्यसमेत रहेका वलीलाई बैंक हिनामिना प्रकरणमा म्याद तामेल गर्दा पनि म्याद गुजारेर बसेको अदालतले ठहर गरेको थियो ।दाङ कांग्रेसको उपसभापतिमा प्रतिस्पर्धा गरेका उनलाई प्रमुख एसपी वीरबहादुर वलीले संरक्षण गर्दै आएको आरोप लागेको छ ।एसपीको पावर देखाउँदै उनी मुद्दा मिलाउन जिप्रका दाङसहित जिल्ला सरकारी वकिल कार्यालय धाउने गरेका छन् ।

 

उच्च अदालत तुलसीपुरका शाखा अधिकृत गोकर्ण वलीले मुद्दा परेका वली हाजिर नभएकाले मुलतबीमा राखिएको र प्रहरीले वलीलाई पक्राउ गरेर अदालतमा ल्याए प्रक्रिया अनुसार अघि बढ्ने बताए ।आफैँ हाजिर भए राम्रो र नभएमा पक्राउ गरेर बुझाउनसक्ने प्रावधान रहेको उनको भनाइ छ ।एसपी वली र डीएसपी राजन गौतमले पक्राउ गर्न चासो नदेखाएको भन्दै आलोचना बढेको थियो ।

 

 

Share: