नेकपा एस तीन मन्त्रालयबाट नघट्ने,प्रचण्डले दुई मन्त्रालयमात्रै दिने

150
0
Share:

काठमाडौँ/ नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालयबाट घट्न नसक्ने बताएको छ ।मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेट्न बालुवाटार पुगेका अध्यक्ष माधवकुमार नेपालसहित सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल र नेता प्रकाश ज्वालाले यस्तो प्रस्ताव राखेका हुन् ।

 

सरकारलाई पूर्णता दिने अन्तिम तयारी गरी रहेका प्रधानमन्त्री प्रचण्ड सामु नेकपा एसले गठबन्धनमा रहेको कांग्रेसले राष्ट्रपति, माओवादी प्रधानमन्त्री र जसपाले उपराष्ट्रपति पाइसकेकाले अब आफूहरूको रोज्ने पालो भएको बताएका हुन्।उनीहरूले प्रचण्डसँग आफूहरूले गृहमन्त्रालयको अडान राखेको स्रोतले बतायो ।

 

उनीहरुले गृह नभए भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा चित्त बुझाउन तयार भएपनि तीन मन्त्रालयबाट घट्न नसक्ने स्पष्ट सन्देश दिएर फर्किएका छन् ।प्रचण्डले नेकपा एसको भागमा दुई मन्त्रालयमात्रै प्रस्ताव गरेका छन् ।

 

यस्तै, प्रदेशसम्म प्याकेजमै भागबन्डा हुँदा कुनै एक प्रदेश सरकारको नेतृत्व र सबै प्रदेशमा सहभागिता रहनुपर्ने प्रस्ताव संयुक्त रुपमा राखेका छन् ।एसले तीन मन्त्रालय लिएर पार्टी उपाध्यक्ष डा. बेदुराम भुसालको नेतृत्वमा प्रकाश ज्वाला र भानुभक्त जोशीलाई मन्त्री पठाउने तयारी गरेको छ । प्रधानमन्त्रीले मन्त्रिपरिषद्लाई पूर्णता दिने आज ४ बजे गठबन्धनको बैठक बोलाएका छन् ।

 

तर, गृहमन्त्रालय माओवादी आफैले राख्ने प्रधानमन्त्रीको तयारी छ ।

Share: