
काठमाडौँ/पनौती नगरपालिका–२ कुशादेवीको तोरीखोरियास्थित नयाँगाउँ रातोपहरामा व्यावसायिकरूपमा साहसिक खेल ‘रकक्लाइम्बिङ’ सुरु गरिएको छ । सङ्घीय राजधानी काठमाडौँबाट नजिक काभ्रेपलाञ्चोकको पनौतीनगरस्थित बसपार्कबाट पश्चिमतर्फ नौ किलोमिटर दूरीमा व्यवस्थित गरिएको उक्त रक क्लाइम्बिङको सुरुवातले नेपालको पर्यटन क्षेत्रमा थप नयाँ गन्तव्य थपिएको व्यवसायीको विश्वास छ ।
रक क्लाइम्बिङको नगरप्रमुख रामशरण भण्डारीले मङ्गलबार शुभारम्भ गर्नुभएको हो । उहाँले पनौती सांस्कृतिक, धार्मिक तथा पर्यटकीय हिसाबले आकर्षक बन्दै गएको अवस्थामा कुशादेवी क्षेत्रमा थपिएका साहसिक खेल गन्तव्यले खुसीयाली पनि थपिएको बताउनुभयो ।एकपटकमा आठ जना ‘क्लाइम्बर’ चढ्न सकिने गरी रातोपहरामा रकक्लाइम्बिङ निर्माण गरिएको नेपाल पर्वतारोहण प्रशिक्षक सङ्घका प्रशिक्षक पेम्बा ओङ्छु शेर्पाले बताउनुभयो ।
उहाँका अनुसार साहसिक खेलमा रुचि राख्नेले उक्त क्षेत्रमा पुगी रकक्लाइम्बिङ गर्न सक्नेछन् । जर्मनबाट ल्याइएको एक हजार ‘बोल्ड’ किला रकक्लाइम्बिङका लागि पहराका भित्तामा गाडिएका छन् । जसको सहारामा डोरीको माध्यमबाट ५० मिटरभन्दा धेरै रकक्लाइमिङ गर्न सकिन्छ । वडाध्यक्ष पुरुषोत्तम अधिकारीले नगरबाट विनियोजित रु १० लाखबाट हाल रकक्लाइम्बिङ पुग्ने स्थानसम्मको पदमार्ग तथा पूर्वाधार तयार गरिएको बताउनुभयो । उहाँका अनुसार यसमा ‘बेस वाल’ निर्माणलगायतका पूर्वाधार निर्माण गर्न बाँकी छ ।
साथै वडा कार्यालयले रकक्लाइम्बिङ, प्याराग्लाइडिङ, डाउनहिल साइक्लिङका साथै चरा संरक्षण गरी चराका आवाज सुन्ने र त्यसबाट प्राकृतिक मनोरञ्जन लिन सकिने गरी थप नयाँ गन्तव्यको प्रक्रिया सुरु गरेको छ । फुल्चोकी क्षेत्रलाई साहसिक खेल–पर्यटनका रूपमा विकास गर्न आफूहरू नगरको योजनामा समावेश गरी लागेको अधिकारीले बताउनुभयो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई कुशादेवी–फुल्चोकी क्षेत्रमा प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन सञ्चालन) सञ्चालनको अनुमति दिएपछि गत फागुनमा परीक्षण गरी उडान थालिएको छ ।दैनिक १० प्याराग्लाइडिङले बिहान १० देखि अपराह्न ४ बजेसम्म उडान अनुमति पाएको छ । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजिबीलिटी’ रहने जनाइएको छ । प्याराग्लाइडिङ गुर्दूमडाँडाबाट उडान सुरु गरी कुशादेवीको बन्चरेटारमा झर्नेछ ।
गुर्दूमडाँडाबाट बन्चरेटार सडकको दूरीका हिसाबले चार किलोमिटर हो । तर प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार तीन सय ५० मिटर उचाइमा छ भने झर्ने स्थान बन्चरेटार एक हजार तीन सय मिटरमा छ ।पनौती नगरले पनि चालु आर्थिक वर्षमा साहसिक खेल–पर्यटनलाई प्राथमिकतामा राखेको छ । यस वर्ष ‘हाइकिङ ट्रेल’को विकास, विस्तार तथा प्रचार गर्न नगरले आफ्नो नीति तथा कार्यक्रममासमेत उल्लेख गरेको छ । नगरले यसअघि गत वर्ष चैतमा पर्यटन प्रवद्र्धन गर्न पर्यटकीय क्षेत्र फुल्चोकी र नागीडाँडामा साहसिक खेल ‘साइक्लिङ’ को सुरुआत गरेको थियो ।
उक्त साहसिक खेल नगरको १ नं वडास्थित सबैभन्दा अग्लो पर्यटकीयस्थल फुल्चोकीडाँडाबाट २ नं वडाको नागीडाँडासम्म छ किलोमिटर साइकल मार्ग तय गरिएको छ । नगरको ‘फुल्चोकी टावर माउन्टेन बाइक ट्रेल’मा त्यतिबेला नेपाल, क्यानाडा र भारतका करिब दुई सय जनाले साइकल चलाएका थिए ।
गत भदौ पहिलो साता शुक्रबार पनौती नगरपालिका–२ फुल्चोकी क्षेत्रमा ३५ साइक्लिङ खेलाडीले ‘मड््डी हिल डाउनिङ साइक्लिङ’ प्रतियोगितामा सहभागिता जनाए । नेपालमै पहिलो मानिएको उच्च पहाडी क्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोकतर्फको फुल्चोकी जङ्गलको हिलो बाटोमा नगरको संयोजनमा आयोजित प्रतियोगितामा १२ वर्षीय बालकसमेतको सहभागिता रहेको थियो ।
यसैगरी नेपाल पर्यटन बोर्डका अनुसार पनौती–नमोबुद्ध हाइक, बल्थली इको–ट्रेल (लो–ल्याण्ड ट्रेक), साँगा–पनौती हाइक (कम्युनिटी हाइक), गुर्दूम–महाभारत पदयात्रा, माउन्टेन बाइक (फुल्चोकी वरिपरि), बर्ड वाचिङ (चराको दृश्यावलोकन), योग ‘रिट्रिट’, सामुदायिक र निजी होमस्टे, तामाङ सांस्कृतिक पदयात्रा मार्ग, जात्रा–मेला अवलोकन भ्रमण गर्न सकिने छ ।