
काठमाडौँ/बेलायतका राजा चाल्र्स तृतीय जर्मनीको तीनदिने राजकीय भ्रमणमा आज यहाँ आउँदै हुनुहुन्छ । देशको राजसिंहासन सम्हालेपछि हुनलागेको पहिलो विदेश भ्रमणमा उहाँका साथ रानी क्यामिला पनि रहनुहुनेछ ।यसअघि बेलायतका नरेशले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो तर फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकको राष्ट्रव्यापी विरोधप्रदर्शनका कारण उहाँको भ्रमण स्थगित भएको थियो ।
बर्लिनका विभिन्न भागमा बेलायतका झण्डा फहराइएका छन् । बेलायतका राजदम्पतिलाई जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयर र प्रथम महिलाएल्के बुडेनबेन्डरले सैन्य सम्मानका साथ स्वागत गर्ने कार्यक्रम छ ।बेलायतका राजदम्पतिलाई जर्मनीका नागरिकले ब्रान्डनबर्ग गेटमा स्वागत गर्नेछन् । एक हजार पाँच सय दर्शक अट्नसक्ने उक्त स्थानमा बेलायतका राजारानीलाई प्रत्यक्ष भेट्ने चाहनेलाई बेलैमा उक्त गेटमा आउन सुझाव दिइएको छ ।
नजिकका छिमेकी मुलुकको भ्रमण गर्ने राजाको निर्णयअनुसार चाल्र्स जर्मनीतर्फ प्रस्थान गर्न लाग्नुभएको हो । जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले बेलायतका राजाको भ्रमणलाई दुई देश र जनताबीचको घनिष्ठ एवम् हार्दिक मैत्रीको प्रतीक भन्नुभएको छ ।
महारानी एलिजाबेथले सन् १९६५ मा जर्मनीको औपचारिक भ्रमण गर्नुभएको थियो । पूँजीवादी पश्चिम र कम्युनिष्ट पूर्वजर्मनी विभाजित भएका बेला भएको उक्त भ्रमणलाई पारस्परिक मेलमिलापका रूपमा लिइएको थियो ।राजा चाल्र्सले बिहीबार चान्सलर ओलाफ स्कोल्जसँग भेटवार्ता गर्नुहुने कार्यक्रम छ । त्यसअघि राजदम्पति बेल्लेभ्यु प्यालेसमा आयोजना हुने रात्रिभोजमा सहभागी हुनुहुनेछ ।
राजा चाल्र्सले बिहीबार जर्मनीको सङ्घीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । जर्मन संसद्लाई सम्बोधन गर्ने उहाँ पहिलो सम्राट हुनुहुनेछ । साथै उहाँले हालै युक्रेनबाट आएका शरणार्थीलाई पनि भेट्ने कार्यक्रम रहेको जनाइएको छ । उत्तरी बन्दरगाह शहर ह्याम्बर्गमा नवीकरणीय ऊर्जा परियोजनाको अवलोकन गरेर राजदम्पति शुक्रबार स्वदेश फर्कनुहुनेछ ।बेलायतको राजपरिवारले जर्मनीसँगको सम्बन्धलाई उच्च महत्व दिएको जर्मनीको डार्मस्टाड टेक्निकल युनिभर्सिटीका समाजशास्त्रका प्राध्यापक माइकल हार्टम्यान बताउनुहुन्छ ।
गत वर्ष महारानी एलिजाबेथ द्वितीयको निधन भएपछि पनि बेलायतप्रतिको जर्मनीको आकर्षण कम नभएको उहाँले एएफपीलाई बताउनुभयो ।बर्लिनस्थित बेलायतको राजदूतावासका अनुसार राजसिंहासन सम्हाल्नुअघि युवराज चाल्र्सले ४० पटक जर्मनीको भ्रमण गर्नुभएको थियो । त्यसबेला उहाँले बेलायत जर्मनीको साथी,सहयोगी र साझेदार रहने बताउनुभएको थियो ।