
काठमाडौँ/न्याय माग्न महोत्तरीको बर्दिवासबाट ११ दिन पैदल हिँडेर आएका मिटरब्याजीपीडितहरु धमाधम बिरामी पर्न थालेका छन् । गर्मी ठाउँबाट आएका धेरैजसो पीडित खुला सडकमा रात बिताएकाले चिसोका कारण बिरामी परेका छन् । धेरैजसोको घाँटी दुखेको छ भने हातखुट्टा र अनुहार सुन्निएको छ ।मिटरब्याजीविरुद्धको संघर्ष समितिका संयोजक मनोजकुमार पासवानले लगातारको हिँडाइले धेरैजसो थकित भएको र काठमाडनैंको चिसोका कारण बिरामी परेको जानकारी दिए ।
७३ जनामध्ये धेरैजसो खाली खुट्टै काठमाडौं आइपुगेका छन् । काठमाडौं महानगरपालिकाले खुलामञ्चमा छिर्न नदिएपछि उनीहरुले चिसो सडकमै रात बिताएका थिए । मिटरब्याजीपीडितहरु अहिले अनामनगरको तमु बौद्धमा बसेका छन् ।मिटरब्याजीपीडितको आन्दोलनमा धेरैले ओठेभक्ति देखाए पनि उनीहरूको समस्या समाधानमा भने मौन देखिएका छन् । अधिकांश साहुकार कांग्रेस, एमाले, माओवादी, जसपा, राप्रपाका भएकाले यो पनि राजनीतिबाट अछुतो छैन । सोही कारण पनि मंगलबार नै पीडितलाई भेट्छु भनेर सन्देश पठाएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेसम्म पीडितलाई भेट्न सकेका छैनन् ।
मंगलबारको मन्त्रिपरिषद्् बैठकबाट मिटरव्याजलाई अपराधको रुपमा ब्याख्या गर्नेगरी कानुन संशोधन गर्ने निर्णय गराएका प्रधानमन्त्रीले पीडितहरूलाई भेटेर उनीहरूको पीडा सुन्ने धेरैको अपेक्षा थियो । तर, प्रधानमन्त्रीले पनि उपेक्षा गरेपछि ११ दिन लगाएर काठमाडौं आएका पीडित निराश बन्न थालेका छन् ।
मंगलबार दिनभर प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयले पीडितलाई भेट्न प्रधानमन्त्री जाँदैछन् भनेर प्रचार गरिरहेको थियो ।पीडितको माग सम्बोधन गर्न मिटरब्याजलाई अपराध मानेर पीडकलाई आवश्यक कारबाही गर्ने प्रक्रिया अघि बढाउने सरकारको तयारी छ । यसमा सबै दलले साथ दिएका छन् ।