
काठमाडौँ/ नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा. स्वर्णिम वाग्लेले तीव्र असन्तुष्ट प्रकट गर्दै पार्टी परित्याग गरेका छन् । उनले कांग्रेसका केही नेताहरूलाई सन्देश पठाएर सभापति शेरबहादुर देउवा र पत्नी आरजुप्रति असन्तुष्टी व्यक्त गर्दै आफू पार्टीमा रहन नसक्ने अवस्था आएको बताएका हुन् ।
वाग्लेले भनेका छन्, ‘हजुरहरूको अपार सद्भावका बाबजूद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।’वाग्लेले अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ को प्रयोगमा जान चाहेको उल्लेख गरेका छन् ।
‘यो निर्णय लिनुअघि हजुरहरूसँग भेटेको भए निश्चय पनि कांग्रेस नछोड्न भन्नुहुने र त्यसपछि छोड्दा अवज्ञा गरेको हुने भएकोले श्रद्धापूर्वक पछि नै हामी बस्नेछौं,’ उनको भनाई छ ।‘कांग्रेस पार्टीमा हजुरहरूको निर्णायक हैसियत बनेको दिन फेरि हामी कुनै न कुनै रूपमा जोडिन सक्ने आशा छ । त्यतिन्जेल जहाँजहाँ रहन्छौं, त्यहींबाट सहकार्य र सहयोग गर्ने र अहिलेको आत्मीय मित्रता कायम राख्ने वाचा गर्दछु,’ वाग्लेले भनेका छन् ।
कांग्रेस छोडेर वाग्लेले राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्न लागेको अनुमान छ । उनी तनहुँ १ बाट उपचुनावमा उठ्ने पनि चर्चा छ ।बैशाक १० मा हुने उपनिर्वाचनमा तनहुँ–१ बाट रास्वपाको उम्मेदवार बनाउने विषयमा वाग्लेसँग सम्पर्कमा रहेको केन्द्रीय सदस्य दीपक बोहोराले जानकारी दिए ।‘तनहुँ–१ बाट उम्मेदवार बनाउने विषयमा उहाँसँग हामीले निरन्तर कुराकानी गरिरहेका छौं । उम्मेदवार बन्न उहाँ सकारात्मक हुनुहुन्छ । थप छलफल गरेपछि केहि दिनमा निर्णय लिनेछौं’,
सोही क्षेत्रबाट निर्वाचित कांग्रेसका सांसद रामचन्द्र पौडेल २५ फागुनमा राष्ट्रपतिमा निर्वाचित भएपछि कांग्रेसले केन्द्रीय सदस्य गोविन्द भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
मंसिर ४ मा भएको निर्वाचनमा कांग्रेसको घोषणापत्र तयारी समितिको सदस्य रहेका उनलाई महामन्त्री गगन थापाले चितवन वा काठमाडौं–४ बाट उठ्न सुझाव दिएका थिए । तर उनलाई उम्मेदवार बनाउन सभापति शेरबहादुर देउवाले नमानेको आरोप छ ।