
काठमाडौँ/नगरप्रमुखको नामबाट विद्यालय शिक्षा परीक्षा (एसइई) को गणित विषयको परीक्षा दिँदै गरेका एक जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।रौतहटको देवाही गोनाही नगरपालिकाका प्रमुख प्रेमलाल साह कानुको नामबाट एसइई परीक्षा दिँदै गरेका गरुडा–६ पोठियाहीका कमल साहलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका साह नगरप्रमुखको ज्वाई रहेको बताइएको छ । उनी पेशाले इन्जिनियर रहेको स्रोतले बतायो ।मौलापुर नगरपालिकास्थित लक्ष्मिनिया माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । परीक्षा सञ्चालन भइरहेको बेलामा केन्द्रमा परीक्षा दिइरहेका साह प्रति अनुगमन टोलीलाई शङ्का लागि चेकजाँच गर्दा उनी नक्कली परीक्षार्थी रहेको पाइएपछि नियन्त्रणमा लिइएको हो ।
प्रेमलाल साह कानुको प्रवेश पत्रमा रहेको सिम्बोल नम्बर ३५०३७२८ बाट उनले परीक्षा दिइरहेको अवस्थामा पक्राउ गरिएको जनाइएको छ ।जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक वीर बहादुर बुढामगरले पक्राउ परेका साह माथि अनुसन्धान भइरहेको बताउनुभयो ।