
काठमाडौं/ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले प्रधानमन्त्रीले सत्ता गठबन्धनले जारी गरेको साझा न्यूनतम कार्यक्रमको विषयमा प्रश्न उठाएका छन् ।शनिबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले यस्तो प्रश्न उठाएका हुन् । उनले रास्वपाको बाचापत्रमा उल्लेख भएको विषयहरू अहिलेको न्यूनतम साझा कार्यक्रममा किन नअटाएको भन्दै प्रश्न उठाए ।
साथै उनले राष्ट्रिय सहमतिको सरकार भनेर प्रधानमन्त्रीले उच्चारण गरेपनि अघिल्लो गठबन्धन हुँदा समेटिएको साझा न्यूनतम कार्यक्रमको विषय किन हटाइएको भन्दै प्रश्न गरे ।सरकारले दुई महिनाअघि ल्याएको नीति तथा कार्यक्रममा समेटिएको बलात्कारसम्बन्धी मुद्दामा द्रूत गतिमा छिनोफानो गर्ने भन्ने व्यवस्था हटाइएको भन्दै उनले आपत्ति जनाए ।
‘बलात्कारसम्बन्धी मुद्दामा द्रूत गतिबाट छिनोफानो गर्ने व्यवस्था गरेको थियो । अहिले हटाइएको छ । दुई महिनाअघि स्वीकार भएको यो व्यवस्था अहिले किन भएन ?,’ उनले अघि भने, ‘भ्रष्टाचारमा अख्तियार जोडिएका विषयहरूमा छानबिन गरी कानुनी कारबाही अघि बढाउने भन्ने कुरा पहिले थियो, अहिले छैन ।
रातारात भ्रष्टाचारीसँग मिलेमतो भएको हो वा अन्य केही कारण हो ?’उनले पहिलेको नीति तथा कार्यक्रममा एक वर्षभित्र राष्ट्रिय परिचयपत्र दिइसक्ने उल्लेख भएकोमा यसपटक त्यसलाई हटाइएको बताए ।