
काठमाडौं/आगामी वैशाख १० गते चितवन क्षेत्र नं २ मा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रयोजनका लागि जारी निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल भएको छ ।
मुख्य निर्वाचन अधिकृत बासु न्यौपानेले आचारसंहिता कडाइका साथ लागू गरिने बताउनुभयो । “कोही कसैबाट उल्लङ्घन भएमा तत्काल सूचना दिनुहोला । तत्काल कारबाही हुन्छ”, उहाँले भन्नुभयो ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले आचारसंहितामा भएका व्यवस्थालाई कोही कसैले पनि हल्का रुपमा लिन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक राजनीतिक दल तथा उम्मेदवारले आफ्ना गतिविधिबारे प्रशासनलाई नियमित जानकारी दिने र स्वीकृति लिने गर्नुपर्छ ।”
आचारसंहिता पालन गर्नका लागि बनाइने भए पनि उल्लङ्घन बढी हुने गरेको दलका प्रतिनिधिले गुनासो गरेका छन् । यसअघिका निर्वाचनमा आचारसंहिता कार्यान्वयन नभएको जनाउँदै यस पटक कडाइका साथ कार्यान्वयन गर्नुपर्ने उनीहरुको भनाइ थियो ।
नेपाली कांग्रेसका सचिव धु्रव पोखरेलले आचारसंहिता पालनमा सबै सजग हुनुपर्नेमा जोड दिनुभयो । नेकपा (एमाले)का प्रतिनिधि मुकुन्द दाहालले आचारसंहिता पालना गर्ने सबैको कर्तव्य भए पनि कार्यान्वयनमा कतिपय दल चुकेको जनाउँदै यसतर्फ सबै पक्षको ध्यानाकर्षण गराउनुभएको थियो ।मङ्गोल नेसनल अर्गनाइजेसनका टेकबहादुर तामाङले ठूला दलले आचारसंहिता उल्लङ्घन गर्ने गरेको गुनासो गर्नुभयो ।