
काठमाडौं/अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले जलवायु परिर्वतनसम्बन्धी आईएमएफको ४० अर्ब अमेरिकी डलरको रिजिलेन्स एण्ड सस्टेनेबिलिटी ट्रष्ट(आरएसटी)का परियोजनामा सहभागी हुने चाहना विश्वका ४४ देशले गरेका बताउनुभएको छ ।
एक वर्षअघि स्थापना भएको आरएसटीले कम आय भएका तथा कमजोर मध्यम आय भएका देशलाई आर्थिक सहयोग प्रदान गरी जलवायु परिवर्तनजस्ता प्रणालीगत जोखिम सामना गर्दै दिगो आर्थिक नीति प्रवद्र्धनको लक्ष्य लिएको छ । आरएसटीले मानव सृजित हरितगृह ग्यास उत्सर्जनलाई शून्यमा झार्न निर्धन देशका निम्ति सहयोगको उक्त कोष स्थापना गरेको हो ।
प्रबन्ध निर्देशक जर्जिएभाका अनुसार रुवाण्डा, बार्बाडोस, कोस्टारिका, बङ्गलादेश र जमैकाले कोषबाट सहयोग प्राप्त गर्न सम्झौता गरेका छन् । उदीयमान बजार र अर्थतन्त्रमा निजी लगानीका अवरोध हटाउन मद्दत गर्ने उक्त कोष आफैमा जलवायु सङ्कट समाधान नभए पनि त्यसले केही योगदान गर्ने उहाँले बताउनुभएको छ ।