
काठमाडौ/महोत्तरीमा मजदुरलाई अमानविय व्यवहार गर्ने ठेकेदारलाई प्रहरीले पक्राउ गरेको छ । काम गरेको ज्याला माग्दा मजदुरलाई अमानवीय व्यवहार गर्ने ठेकेदारलाई प्रहरीले पक्राउ गरेको हो ।
महोत्तरीको लोहारपट्टी नगरपालिका–६ का २१ वर्षीय मोबारक नदाफमाथि स्थानीय निर्माण व्यवसायी ३५ वर्षीय कृष्ण मिश्रले उनीमाथि कुटपिटसहित अमानवीय व्यवहार गरेको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिनुभयो ।
गत फागुन २३ गते बिहान नदाफलाई ज्यालाका लागि बोलाएर कुटपिटसहित चोकको विद्युत पोलमा पाता कसेर, केस मुण्डन गरी मोसो दलेर अमानवीय व्यवहार गरेका हुन् । प्रहरीले मिश्रलाई घटनाको भोलिपल्ट पक्राउ गरेको छ । उनीमाथि अमानवीय अपमानजनक व्यबहार कसुरमा मुद्दा चलाएको डिएसपी गिरीले बताउनुभयो ।
पीडित परिवारका अनुसार रमजान मनाउन निर्माण व्यवसायी मिश्रसँग काम गरेको ज्याला नदाफले माग्नुभएको थियो । पटक–पटक ज्याला माग गर्दा नदिएपछि उहाँले काम गर्दैगर्दा औजार लग्नुभएको थियो । औजार लिएर आउनु पैसा दिन्छु भनेर शिव आश्रममा बोलाएर चोरीको आरोप लगाउँदै चोकमा लगेर अमानवीय व्यवहार गरेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।