वैशाख महिनाका लागि बैंकको ब्याजदर एकल अंकमा झर्‍यो

Share:

काठमाडौं/बैंक तथा वित्तीय संस्थाले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । बुधबार बसेको बैंकर्स संघको निर्णयअनुसार नै बैंकहरुले वैशाख महिनाका लागि एकल अंकमा झर्ने गरी निक्षेपको ब्याजदर घटाएका हुन् ।बैंकहरुले बिहीबार सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार निक्षेपको अधिकतम ब्याजदर ९.९९ प्रतिशत कायम भएको छ । यो यसअघिको ब्याजदर भन्दा १.०१ प्रतिशतले कम हो । यस्तै संस्थागत निक्षेपमा बैंकहरुले ७.९९ प्रतिशत ब्याजदर कायम गरेका छन् ।

 

 

वाणिज्य बैंकहरुले चैत महिनाका लागि मुद्दती निक्षेपमा अधिकतम ११ प्रतिशत ब्याजदर प्रदान गरिरहेका थिए भने संस्थागत निक्षेपमा ९ प्रतिशत ब्याजदर प्रदान गर्दै आएका थिए ।यस्तै, साधारण बचतमा ६.५ प्रतिशतदेखि ८.४३ प्रतिशत ब्याजदर प्रदान गरिरहेका बैंकहरुले आगामी वैशाख १ गतेदेखि न्यूनतम ५.४ प्रतिशतदेखि ७.४ प्रतिशत ब्याजदर मात्र प्रदान गर्ने भएका छन् ।

 

 

बैंकहरुबीचको भद्र सहमतिअनुसार कल निक्षेपमा भने बचतको तल्लो सीमाको ५० प्रतिशत हुनेगरी ब्याजदर निर्धारण गर्ने भएका छन् ।नयाँ ब्याजदर शुक्रबार अर्थात् भोलि वैशाख १ गतेबाट कार्यान्वयनमा जानेछ । निक्षेपको ब्याजदर घटेसँगै उता कर्जाको ब्याजदर समेत केही प्रतिशत घट्ने भएको छ ।

 

Share: