
काठमान्डौ/साउदी अरबले आफ्नो प्रतिद्वन्द्वी इरानसँग सम्बन्ध पुनः सुरु गर्ने सम्झौतापछि कूटनीतिक परिवर्तन भइरहेका बेला सिरियाको एक्लोपन अन्त्यका लागि बिहीबार अरब क्षेत्रीय बैठक आयोजना गर्ने तयारी गरेको थियो ।सन् २०११ मा सिरियाली गृहयुद्ध सुरु भएपछि पहिलो पटक सिरियाली विदेशमन्त्री साउदी अरबको अघोषित भ्रमणमा आउनुभएको छ भने मक्काको रेड सीको प्रवेशद्वार जेदामा शुक्रबार नौ राष्ट्रसम्मिलित वार्ता हुन लागेको छ ।
साउदी अरब र इरानले मार्च १० मा चिनियाँ मध्यस्थतामा सम्बन्ध पुनः सुरु गर्ने घोषणा गर्नुअघि अकल्पनीय घटनाहरू मध्ये यो एक थियो ।साउदी अरबमा कूटनीतिक नियोगहरू पुनः सञ्चालनका लागि मार्ग प्रशस्त गर्न बुधबार इरानी प्रतिनिधिमण्डल अवतरण गरेको थियो ।यमनका लागि साउदी राजदूतले सन् २०१५ मा साउदी नेतृत्वको सैन्य हस्तक्षेप सुरु भएयता जारी विनाशकारी गृहयुद्ध अन्त्य गर्ने उद्देश्यले यसै साता इरान समर्थित हुथी विद्रोहीसँग वार्ता गर्नुभएको छ ।
यसै महिनाको सुरुमा साउदी अरब र इरानी विदेशमन्त्रीहरूले बेइजिङमा भएको भेटमा समस्याग्रस्त क्षेत्रमा ‘सुरक्षा र स्थिरता’ ल्याउन मिलेर काम गर्ने प्रतिबद्धता जनाएका थिए ।बुधबार राति ग्यासको धनी कतार र उसको सानो खाडी छिमेकी बहराइनले लामो समयदेखि चलेको कूटनीतिक द्वन्द्वलाई किनारा लगाउँदै सम्बन्ध पुनः स्थापना गर्न सहमति जनाएका छन् ।
विश्वको सबैभन्दा ठूलो तेल निर्यातकता सुन्नी शासित साउदी अरब र शिया धर्मतन्त्र इरानले लामो समयदेखि यस क्षेत्रमा आफ्नो प्रभावको लागि प्रतिस्पर्धा गर्दै आएका छन् ।तर विश्लेषकहरूका अनुसार साउदी अरबले ऊर्जामा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्ने उद्देश्यले घरेलु परियोजनाहरूमा ध्यान केन्द्रित गर्न अनुमति दिन यस क्षेत्रलाई शान्त पार्ने प्रयास गरिरहेको छ ।