
काठमान्डौ/अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा झण्डै ७० करोड रूपैयाँ घोटाला गरेको आरोपमा दशजनविरूद्ध मुद्दा दायर गरेको छ । आयोगले ६९ करोड घोटाला भएको आरोपमा मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलसहित नौजनाविरूद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।
कार्यकारी सहित यो काममा संलग्न हुनेमा प्रबन्ध निर्देशकदेखि शाखा अधिकृत र लेखा अधिकृतबाट सेवानिवृत्त भइसकेकासमेत छन् ।आरोपपत्रमा जनाइएअनुसार उनीहरूले अस्वाभाविक लागत अनुमान तयार गरी स्वीकृत गरेको पाइएको छ । त्यस्तै, खरिद सम्झौता विपरीत नै गुणस्तरहीन ‘इलेक्ट्रिक ट्रान्सफर्मर’ स्वीकार गर्ने काम भएको छ भने सम्झौतामा उल्लेख भएभन्दा फरक ‘कन्ट्री अफ ओरिजिन’ भएको जेनेरेटर स्वीकार गरी भुक्तानी भएको आयोगको अनुसन्धानमा देखिएको छ ।
त्यस्तै खरिद सम्झौतामा तोकिएअनुसार काम नै नगरी संरचना सञ्चालनबापत र आपूर्तिपछिको सेवाबापत अग्रिम रूपमै बढी भुक्तानी दिन, आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने ‘बल्क फ्युल ट्यांक सिस्टम’ खरिद गरी सरकारी सम्पत्ति गैरकानुनी तवरले हानिनोक्सानी तथा सरकारी रकम दुरुपयोग गरेको आयोगले जनाएको छ।
आयोगले कार्यकारी निर्देशक पौडेललाई ६९ करोड आठ लाख ८१ हजार आठ सय ५४, सिडिई नवीनकुमार पोखरेलविरुद्ध ४९ करोड ४६ लाख ३५ हजार नौ सय ४५, सहायक निर्देशक रमेशप्रसाद पोखरेलविरुद्ध २० करोड ३८ लाख ९३ हजार आठ सय २७, लेखा अधिकृतबाट निवृत्त रामबहादुर बुढाविरुद्ध १९ करोड ८८ लाख ९४ हजार दुई सय ८९, शाखा अधिकृत शिरीष उपाध्यायविरुद्ध ४० करोड एक लाख ३९ हजार सात सय ४६, रोहितमान प्रधानविरुद्ध २३ करोड ४४ लाख ९६ हजार नौ सय २१, भुवन महर्जनविरुद्ध ४३ करोड ५७ लाख ४२ हजार तीन सय ६८ र मित्रलाल गुरौविरुद्ध आठ लाख ६९ हजार बिगो माग दाबी गरेको छ ।