काभ्रेमा मालवाहक सवारी साधन टिपरले ढुवानी गर्ने सामानको भार मापन गर्न आनाकानी

Share:

काठमान्डौ/मालवाहक सवारी साधन टिपरले ढुवानी गर्ने सामानको भार मापन गर्न बनेको तौल पुल प्रयोग गर्न टिपर व्यवसायीले आनाकानी गरेपछि प्रशासनले सबै पक्ष राखेर छलफल चलाएको छ ।प्रशासनले भने मालवाहक टिपरले क्षमताभन्दा बढी सामान ढुवानी गरेर सडक क्षति पु¥याएकामा सार्वजनिक सम्पत्तिको रक्षा गर्न तोकिएको मापदण्डअनुसार मात्रै ढुवानी गर्न अनिवार्य तौल लिएर मात्रै सञ्चालन गर्न नियमन गर्न लागिएको जनाएको छ ।

 

गृह मन्त्रालयले तौल पुल सञ्चालन गर्न भन्दै प्रशासन कार्यालयलाई परिपत्र गरेपछि धुलिखेलमा सबै पक्षबीच भएको छलफलमा व्यवसायीले आपत्ति जनाएका छन् । छलफलमा बागमती टिपर व्यवसायी सङ्घका अध्यक्ष सुरेश खत्रीले आफूहरुको हित विपरीत नीति भएका कारण तौल पुल प्रयोग गर्न नसक्ने बताउनुभएको छ । “पछिल्लो समय आएको निर्देशिका कार्यान्वयन गर्ने हो भने हामी सबै टिपरको साँचो प्रशासन कार्यालयलाई बुझाउन बाध्य हुन्छौँ”, उहाँले भन्नुभयो, “हाम्रा सबै उपभोक्ता भनेको काठमाडौँको हो । व्यवसाय चौपट भइरहेको बेला झन् थोरै भए पनि सामान खोज्ने भएकाले समस्या ल्याउने काम नगरियोस् ।”

 

प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले छलफलबाट वैशाख ७ गते बिहान १० बजेदेखि तौल पुल सञ्चालनमा ल्याउने निर्णय भएको बताउनुभयो । कार्यान्वयन गरेपछि आइपर्ने समस्या समाधान गर्दै जाने उहाँको भनाइ छ ।“नियमन गर्ने अधिकार जुन, जुन निकायले पाएका छन्, उनीहरुले गर्छन् । यसमा झन्झट मान्ने र गर्दिनँ भन्न कोही कसैले पाइँदैन”, प्रजिअ पौडेलले भन्नुभयो । कार्यविधिको कार्यान्वयन गर्दा भएका संरचनाको पनि जतन हुने र राज्यलाई नै आर्थिक हिसाबले लाभ दिने भएकाले विधि पछ्याउँदा बीचमा लगेर कटिङ गर्ने र जरिवाना तिर्न कारबाहीबाट छुटकारा मिल्ने उहाँको भनाइ थियो ।

 

 

जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दीपककुमार गौतमले सार्वजनिक सम्पत्ति जोगाउने दायित्व सबैको भएकाले सबै आ–आफ्नो ठाउँबाट कटिबद्ध भएर लाग्न आवश्यक रहेको बताउनुभयो । “बढी भार बोक्दा सडक छिट्टै बिग्रन्छ भन्ने कुरा थाहा भएर पनि व्यवहारमा उतार्न आखिर किन मानिरहेका छैनौँ ?”, जिल्ला समन्वय समितिका प्रमुख गौतमले भन्नुभयो ।जिल्लाको बनेपा पनौती सडक खण्डको लागि पनौती नगरपालिकास्थित हरिहरपुरमा, अरनिको राजमार्गका लागि पाँचखाल नगरपालिकास्थित केराघारीमा र विपी राजमार्गका लागि नमोबुद्धको भकुण्डेबेँसीमा तौल पुल स्थापना गरिएको छ ।

 

यातायात व्यवस्था विभागको अनुमतिमा केराघारी र पनौतीको तौल पुल ग्लोबल मेसिनरी एन्ड टेक्नोलोजी सर्भिसेज प्रालिले स्थापना गरेको छ भने भकुण्डेको तौल पुल कोट काली सर्भिसेज प्रालिले स्थापना गरेको छ ।

 

Share: