दाइजो नदिएको भन्दै श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास

Share:

काठमान्डौ/दाइजो नदिएको भन्दै धनुषामा श्रीमतीलाई आगो लगाएर हत्या गर्ने प्रयास गरेको घटना बाहिरिएको छ । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा रुपैठाकी २८ वर्षीया श्वेता झाको शरीरमा उनका श्रीमान् राजिव झासहित परिवारका अन्य सदस्यहरू मिलेर आगो लगाएर हत्या गर्ने प्रयास भएको घटना बाहिरिएको हो ।जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार गराइरहेकी श्वेताले श्रीमान् राजिवले परिवारका अन्य सदस्यको सहयोगमा आफ्नो शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप लगाइन् । श्वेताले आफूलाई श्रीमान् राजिव, ससुरा शिवशंकर झा, सासु र देवर लगायतले कुटपिट गर्दै शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको बताइन् ।

 

गत वैशाख १ गते राजिवले ९ वर्षीय छोरालाई कुटपिट गरिरहँदा छोरालाई बचाउने क्रममा उनले श्वेतालाई पनि कुटपिट गर्दै आफ्नो भाइ, बुबा र आमाको सहयोगमा उनको शरीरमा आगो लगाइदिएको श्वेताको आरोप छ । राजिवको परिवारले आफूलाई मरणासन्न हुने गरी कुटपिट गरेर शरीरमा आगो लगाए पनि यतिका दिनसम्म उपचारका लागि अस्पताल समेत नल्याएको बताइन् ।घटनाबारे थाहा पाएपछि भारत विहारको दरभंगास्थित पोठिया माइती रहेकी श्वेताका बुबा जयकुमार झा, भाइलगायतका आफन्तले उनलाई प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गराएका छन् । श्वेताको घाँटीभन्दा तलको ३५ प्रतिशत भाग जलेको छ ।

 

स्वेताले भनिन्, ‘ विवाह भएको १० वर्ष बितिसकेको छ, दाइजोमा स्वीकारेको ३ तोला सुन अहिलेसम्म नदिएको भन्दै उनीहरूले मलाई विगतदेखि नै कुटपिट गर्दै आएका थिए,अहिले आगो लगाएर हत्या गर्ने प्रयास नै गरेका छन् ।’घाइते अवस्थामा रहेकी स्वेताले श्रीमान् राजिव र ससुरा पक्षले विवाहको बेला ३ तोला सुन मागेको बताइन् ।

 

त्यति बेला बुबाले २ लाख भारतीय रुपैयाँ दिए पनि अहिलेसम्म ३ तोला सुन नदिएको भन्दै पटकपटक आफूलाई प्रताडित गर्दै आएको आरोप उनकाे छ । श्वेताले विवाहपश्चात बुबाले निरन्तर राजिव र उनको परिवारलाई आर्थिक सहयोग गर्दै आएको सुनाइन् ।

 

Share: