
काठमान्डौ/गण्डकी प्रदेशमा माओवादी केन्द्रकाकै कारण सरकार गठनमा अन्योल देखिएको छ । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले दलहरूलाई नयाँ सरकार गठनका लागि बिहीबार दिउँसो ४ बजेसम्मको समय दिएका छन् । तर सत्तारुढ गठबन्धनको माओवादी सांसदहरू सम्पर्कमै नआएपछि सरकार गठन अन्योलमा परेको छ ।
केन्द्रको समीकरणअनुसार गण्डकीमा कांग्रेसले पहिले मुख्यमन्त्री पाउने भन्ने छ । जसअनुसार कांग्रेस गण्डकी प्रदेश संसदीय दलका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने अवस्था छ । तर माओवादीले आफ्नो कारण एमाले नेतृत्वको सरकार ढलेको भन्दै पहिले आफूले मुख्यमन्त्री पाउनुपर्ने अडान राखेको छ । कांग्रेसले सरकारको नेतृत्व दाबी गर्ने तयारी गरिरहेका बेला माओवादी दलका नेता हरिबहादुर चुमानसहितका सांसदहरू काठमाडौं आएका छन् । उनीहरू प्रधानमन्त्री प्रचण्ड भेट्न आएका हुन् ।
गण्डकी प्रदेशमा नेपाली कांग्रेसको २७ र एमालेका २२ र माओवादीका आठ सांसद छन् । तर केन्द्रमा ३२ सिटे माओवादीले प्रधानमन्त्री चलाए जस्तै गण्डकीमा आठ सिट भएको माओवादीले मुख्यमन्त्रीमा दाबी गरेको छ । हालै सम्पन्न तनहुँ १ को उपनिर्वाचनमा माओवादीबाट मुख्यमन्त्रीमा दाबी गर्ने सांसद चुमानको वडामा कांग्रेसले तीन सय र राष्ट्रिय स्वतन्त्र पार्टीले आठ सय मत पाएको थियो । आफ्ना मतदातालाई कांग्रेसमा भोट हाल्न जानु भन्न नसक्ने चुमानले अहिले मुख्यमन्त्रीमा दाबी गरेपछि कांग्रेस सशंकित भएको छ । जबकि केन्द्रमा गण्डकीमा कांग्रेस र माओवादीबीच आधा आधा कार्यकाल सरकार चलाउने सहमति भएको छ ।
लुम्बिनीमा भने कांग्रेस नेतृत्वमै पहिले सरकार बन्ने भएको छ । प्रदेशको नयाँ मुख्यमन्त्रीमा गठबन्धनबाट कांग्रेसका डिल्ली चौधरीको दाबी प्रस्तुत भइसकेको छ । लुम्बिनीमा कांग्रेस र माओवादीलगायत राजनीतिक दलको गठबन्धनमा सरकार बन्ने निश्चित छ । प्रदेश सभामा ती दलसँगै एकीकृत समाजवादी, लोसपा, जसपा, जनमत, नागरिक उनमुक्तिलगायत एकातिर छन् भने एमाले र राप्रपा अर्कोतर्फ छन् ।माओवादीका जोखबहादुर महरा पनि मुख्यमन्त्रीको निम्ति पार्टीको केन्द्रीय नेतृत्वसँग लबिङ गरिरहेका छन् । उनी कांग्रेसका चौधरीपछि मुख्यमन्त्री बन्ने दौडमा छन् । महरा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष प्रचण्डका निकटमध्येका एक मानिन्छन् ।