भुक्तानी नदिएको भन्दै मन्त्रालयका सचिव मिश्रलाई निर्माण व्यवसायीले कार्यकक्षमै थुने

Share:

काठमान्डौ/मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव कृष्णकुमार मिश्रलाई निर्माण व्यवसायीहरुले कार्यकक्षमै थुनेका छन् ।विकास निर्माणको काम सम्पन्न गरे पनि भुक्तानी नदिएको भन्दै निर्माण व्यावसायीहरुको एक समूहले सचिव मिश्रलाई कार्यकक्षमै थुनेका हुन् ।निर्माण व्यवसायीहरुले सचिवको कार्यकक्षको मूल ढोकामै ताला लगाएका थिए । केहीबेरमा प्रहरीको टोली पुगेपछि निर्माण व्यवसायीहरुले ताला खोलेका छन् । उनीहरुले मधेस सरकार र मन्त्रीविरुद्ध प्रदर्शनसमेत गरेका थिए ।

 

धनुषाका प्रहरी प्रवक्ता डीएसपी विक्रम साहले भुक्तानी नपाएको भनेर छलफल गर्न गएका केही निर्माण व्यवसायीहरुले सचिव मिश्र कार्यकक्षमै रहेका बेला बाहिरबाट ढोकामा तालाबन्दी गरेको र प्रहरी पुगेपछि खोलेको बताए ।उनले भने, ‘ऋण लिएर विकास निर्माणको काम गरेको तर दुई वर्ष बितिसक्दासमेत भुक्तानी नदिएपछि ब्याज तिर्न पनि समस्या भएको निर्माण व्यवसायीहरुको गुनासो छ ।’

 

साढे दुई वर्षदेखि भुक्तानी दिन आलटाल गरेपछि बाध्य भएर सचिवलाई थुनेको निर्माण व्यवसायी खुशीलाल ठाकुरले बताए । उनले भने, ‘हामी ऋणमा डुबिसकेका छौं । तर, सरकारलाई मतलब छैन । कम्तिमा काम गरेको भुक्तानी त हामीलाई दिनुपर्‍यो नि हैन र ?भौतिक पूर्वाधार विकास मन्त्रालयले सम्पन्न भएका योजनाहरुको करिब ६० करोड रूपैयाँ भुक्तानी गर्न बाँकी छ । अन्य मन्त्रालयले समेत करिब सयौं योजनाको एक सय करोड बढी भुक्तानी नगर्दा उपभोक्ता र निर्माण कम्पनीहरु समस्यामा परेका छन् ।

 

भुक्तानी समस्या समाधान गर्न सांसद रानी शर्मा तिवारीको संयोजकत्वमा संसदीय समितिसमेत बनेको छ । तर, समितिले समेत केही काम गर्न सकेको छैन ।समितिकी संयोजक तिवारीले कर्मचारीहरुले समयमा फाइल नदिएपछि योजनाहरुको अनुगमन गर्न नपाएको गुनासो केही दिन अगाडि संसद बैठकमै गरेकी थिइन् ।

 

Share: