भोजपुरमा एकीकृत घुम्ती शिविर सञ्चालन, घण्टौँ हिँडेर पालिका जान नपर्ने 

Share:

काठमान्डौ/भोजपुरको रामप्रसाद राई गाउँपालिकाले वडा–वडाबाट पालिकाको सेवा विस्तार गरेको छ । गाउँपालिकाले आठ दिने एकीकृत घुम्ती शिविर सञ्चालन गरेर वडास्तरमा सेवा प्रदान गरेको हो । सेवा लिनको लागि घण्टौँ लगाएर गाउँपालिका केन्द्रसम्म आउनुपर्ने सास्तीलाई ध्यानमा राखेर वडास्तरबाट आवश्यक सेवा प्रदान गर्दै आएको गाउँपालिकाले जनाएको छ । एकीकृत घुम्ती शिविरअन्तर्गत बैंकसँगको सहकार्यमा काम सम्पन्न भएर आवश्यक कागजपत्र मिलेका पाँच लाखसम्मको योजनाको भुक्तानीसमेत वडामा नै दिने लक्ष्य रहेको गाउँपालिका उपाध्यक्ष वीरेन्द्र राईले जानकारी दिनुभयो । स्थानीयलाई सहज सेवा प्रवाहको लागि गाउँ कार्यपालिकाको निर्णयअनुसार सेवालाई वडास्तरसम्म विस्तार गरिएको उहाँको भनाइ छ ।

 

‘घुम्ती शिविरमार्फत गाउँपालिकाको सेवा वडास्तरसम्म विस्तार गरेर सेवा दिँदै आएका छौँ’, उपाध्यक्ष राईले भन्नुभयो,’स्थानीय नागरिकको सहजताको लागि काम गरिरहेका छौँ । यसअघि योजना सम्झौता पनि वडामा आएर गरेका थियौँ । साना योजनाको भुक्तानी तथा सामाजिक सुरक्षा भक्ता वितरणसँगै अन्य विभिन्न सेवा वडास्तरबाट दिएका छौँ ।’ एकीकृत घुम्ती शिविरमार्फत वडामा सेवा पाउँदा स्थानीय नागरिक पनि खुसी भएका छन् ।

 

सेवा लिन गाउँपालिकासम्म जानुपर्ने बाध्यताको अन्त्य भएको स्थानीयवासी सीता मगरले बताउनुभयो । “सानो कामको लागि पनि चार÷पाँच घन्टा लाएर वैकुण्ठे जानुपथ्र्यो, उहाँले भन्नुभयो, “अहिले आफ्नै वडामा भक्ता पाए, स्वास्थ्य परीक्षण पनि गरे अत्यन्तै खुसी लागेको छ ।’ शिविरमा जेष्ठ नागरिकको स्वास्थ्य परीक्षणसमेत गरिएको छ । गाउँपालिकाले सेवा सञ्चालनमा गरेको नयाँ अभ्यासले सहजता थपिएको स्थानीय वृद्ध भट्टराईले बताउनुभयो । ‘गाउँपालिकाले गरेको काम प्रशंसायोग्य छ’, उहाँले भन्नुभयो, ‘धेरै सास्ती खेपेर गाउँपालिका केन्द्रमा पुगेर गर्नुपर्ने काम यही गर्न पाएका छौँ । यसले हामी ज्येष्ठ नागरिक र अशक्तलाई धेरै सहयोग पुगेको छ ।’ असक्त तथा वृद्धवृद्धा नागरिकको समस्यालाई मध्यनजर गरेर सेवा दिइएको वडा कार्यालयले जनाएको छ ।

 

नागरिकलाई सहज सेवा दिन वडाले पहलकदमी गरिरहेको वडाध्यक्ष रामु थापामगरले बताउनुभयो । “स्थानीय सरकारले सकेसम्म नागरिकलाई सहजरुपमा सेवा दिने हो’, उहाँले भन्नुभयो, ‘हामीले स्थानीय नागरिकलाई कानुनले दिएसम्म सहजरुपमा सेवा दिने लक्ष्यका साथ कामको थालनी गरेका छौँ । यसले यहाँका नागरिकलाई लाभ पुगेको छ ।’ नागरिकलाई स्थानीय सरकार भएको अनुभूति दिलाउन घुम्ती शिविरमार्फत सेवा दिइएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अनन्त राईले बताउनुभयो । आगामी दिनमा सेवालाई अझ सहज हुने गरी विस्तार गर्ने योजना रहेकोसमेत उहाँको भनाइ छ । ‘हामीले नागरिकको प्रत्यक्ष सरोकार राख्ने पाँचवटा मुख्य कामलाई ध्यानमा राखेर सेवा दिँदै आएका छौँ’, उहाँले भन्नुभयो, ‘योजना सम्झौतासँगै साना योजनाको भुक्तानीको काम पनि वडास्तरबाट गर्ने अभ्यास गरेका छौँ ।’ त्यहाँ रहेको एनआइसी एसिया बैंकसँगको सहकार्यमा वडाबाट, साना योजनाको भुक्तानी, सामाजिक सुरक्षा भत्ता वितरण, ज्येष्ठ नागरिक तथा महिला स्वास्थ्य परीक्षण, अपाङगता परिचयपत्र वितरण, सप्ताहव्यापी पञ्जीकरण तथा विद्यार्थी भर्ना अभियानलाई पनि सञ्चालन गरिरहेको उहाँको भनाइ छ ।

Share: